×

दक्षिण कोरियाको राजधानी सियोलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण विरोधमा सडकमा उत्रिएका छन्। ट्रम्प एसियाका आफ्नो अन्तिम भ्रमण स्वरुप जापानबाट दक्षिण कोरिया प्रस्थान गरेसँगै सयौँ प्रदर्शनकारीले सडकमा ‘नो ट्रम्प’ नारा लगाएका हुन्। प्रदर्शनकारी अमेरिकी दूतावासको गेटसम्म पुग्न खोज्दा प्रहरीले रोकेको बीबीसीले जनाएको छ। 

सडकमा मञ्च नै बनाएर ट्रम्पको विरोधमा ठूलो संख्यामा प्रर्दशनकारी भेला भइरहेका छन्। प्रदर्शनकारीहरूको मुख्य आक्रोश ट्रम्पको दक्षिण कोरियालाई मनी मेशिन भनेको टिप्पणी र अमेरिकाले लगाएका व्यापारिक दबाबप्रति केन्द्रित छ। सियोलका विश्लेषकका अनुसार, यस प्रदर्शनले दक्षिण कोरियाको भित्री राजनीतिक भावनालाई झल्काएको छ। प्रदर्शनमा सहभागी युवाहरूले ट्रम्पको आगमनलाई अस्वीकार गर्दै देशको स्वाभिमान र आर्थिक स्वतन्त्रताको पक्षमा आवाज उठाएका छन्। 

ट्रम्पले ऐतिहासिक चिहान र दरबारहरूले भरिएको शहर ग्योङ्जुमा भ्रमणसँगै शिखर सम्मेलनलाई सम्बोधन गर्ने र लीसँग भेट्ने कार्यक्रम छ। उता ट्रम्पको भ्रमण हुनुभन्दा केही घण्टाअघि मात्र उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ। ट्रम्प ‘एसिया प्यासिफिक इकोनोमिक को–अपरेशन’ को बैठकमा भाग लिन दक्षिण कोरिया जाँदै गर्दा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो। उत्तर कोरियाले जमिनबाट हावा प्रहार गर्ने मिसाइल परीक्षण गरिएको दाबी गरेको छ। 

बीबीसीका अनुसार उक्त परीक्षण उत्तर कोरियाको परमाणु हतियार वैध ठहराउने प्रतीकात्मक प्रयास भनिएको छ।

Back to top