वीरगञ्ज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज आयोजना हुँदै छ ।
पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई आज बिहान ११ बजे घण्टीघरस्थित केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ गराइने कार्यक्रम तय गरिएको हो ।
गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए । सभापति लामिछानेले भने महाधिवेशनकै क्रममा भरतपुरमै शपथ ग्रहण गरिसकेका छन् ।
महाधिवेशनबाट उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम निर्वाचित भएका छन् भने महामन्त्री पदमा विपिन आचार्य चयन भएका छन् । अन्य केन्द्रीय सदस्यहरू पनि महाधिवेशनबाट निर्वाचित भइसकेका छन् ।
महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अतिरिक्त केन्द्रीय समितिमा रहनुपर्ने बाँकी पदाधिकारीहरू भने पार्टी विधानबमोजिम सभापतिले मनोनयन गर्न बाँकी रहेको छ ।
शपथ ग्रहण कार्यक्रमपछि केन्द्रीय समितिको बैठक बस्ने तयारी गरिएको छ । बैठकमा मनोनीत पदाधिकारी तथा सदस्यहरूको चयन, सङ्गठन विस्तार तथा आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ ।
महाधिवेशनपछिको नयाँ टिमले आजैदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्दै पार्टीलाई थप सुदृढ र व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ ।