×

वीरगञ्ज । वीरगञ्जस्थित तराई हस्पिटलमा सुत्केरी गराउन भर्ना भएकी एक महिलाको अवस्था चिकित्सकको कथित लापरबाहीका कारण चिन्ताजनक बनेको भन्दै परिवारजनले गम्भीर आरोप लगाएका छन् ।

बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा निवासी चन्दनकुमार साहकी ३० वर्षीय श्रीमती इन्दु देवी साहलाई सोमबार साँझ ७:३० बजे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तरनुम खातुनको परामर्शमा निजकै क्लिनिकबाट तराई हस्पिटलमा भर्ना गरिएको थियो । मङ्गलवार बिहान ३:४५ बजे सामान्य (नर्मल) डेलिभरीमार्फत छोरीको जन्म भएको थियो ।

तर, डेलिभरीपछि अत्यधिक रक्तस्राव (पोस्टपार्टम हेमोरेज) सुरु भएपछि इन्दुको अवस्था क्रमशः नाजुक बन्दै गएको अस्पताल स्रोतले जनाएको छ । हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ ।

परिवारजनले भने चिकित्सकको लापरबाहीका कारण इन्दुको अवस्था अचेत र चिन्ताजनक बनेको आरोप लगाएका छन् । इन्दुका श्रीमान् चन्दनकुमार साहले “उपचारमा गम्भीर लापरबाही भएको” दाबी गर्दै वास्तविक अवस्था लुकाउन अस्पताल प्रशासनले प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले हालसम्म उपचारमा करिब एक लाख रुपैयाँ खर्च भइसकेको बताए ।

परिवारका सदस्यहरूका अनुसार इन्दुको मस्तिष्क मृत्यु (ब्रेन डेथ) भइसकेको भए पनि अस्पतालले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको छ । उनीहरूले अस्पतालले आर्थिक लाभका उद्देश्यले बिरामी जीवितै रहेको दाबी गरिरहेको आरोप समेत लगाएका छन् ।

यता, डा. तरनुम खातुनले भने अस्पताल र चिकित्सकबाट कुनै लापरबाही नभएको स्पष्ट पारेकी छन् । उनका अनुसार इन्दुको रगतमा हेमोग्लोबिन र प्लेटलेट्सको मात्रा अत्यन्त कम थियो तथा डेलिभरीका क्रममा आन्तरिक चोट (इन्टर्नल इन्जुरी) का कारण अत्यधिक रक्तस्राव भएको हो । “बिरामीको अवस्था गम्भीर छ, तर ७२ घण्टापछि मात्र वास्तविक अवस्थाबारे स्पष्ट भन्न सकिन्छ,” उनले भनिन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले बिरामीको मृत्यु नभएको र उपचार जारी रहेको जानकारी दिएका छन् । उनका अनुसार अस्पताल प्रशासन र बिरामीका कुरुवा तथा आफन्तहरूबिच सामान्य विवाद मात्र भएको हो ।

अस्पताल र चिकित्सक विवादमा तानिँदै आएको पृष्ठभूमि

तराई हस्पिटल यसअघि पनि उपचारमा लापरबाही भएको भन्दै विभिन्न समयमा विवादमा तानिएको थियो । स्थानीयस्तरमा केही घटनामा बिरामी पक्ष र अस्पताल प्रशासनबिच तनावको अवस्था सिर्जना भएको घटनाहरू सार्वजनिक भएका थिए ।

त्यस्तै, डा. तरनुम खातुनको नाम पनि विगतमा सामाजिक सञ्जाल र स्थानीय स्तरमा उठेका केही विवादहरूसँग जोडिएको थियो ।

छानबिनको माग

घटनापछि पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन् । स्थानीय स्वास्थ्य कार्यालय तथा सम्बन्धित निकायले घटनाबारे चासो देखाउनुपर्ने उनीहरूको माग छ ।

Back to top