म्यानमारले विद्रोही समूहको नियन्त्रणमा पुगेका कयौँ भू-भाग फिर्ता ल्याएको छ। बीबीसीका अनुसार चीनको सहयोग प्राप्त गरेको म्यानमारको सैनिकले तीव्र हवाई आक्रमणमार्फत् देशका उत्तरी क्षेत्रका कयौँ इलाकामा पुनः नियन्त्रण कायम गरेको हो।
गत वर्ष म्यानमारको तआङ नेशनल निबरेशन आर्मी टीएनएलएले क्यायकमे सहर नियन्त्रणमा लिएको थियो। यो सहर चीनको सीमासँग जोडिएको म्यानमारको प्रमुख व्यापारिक मार्ग एशिएन हाईवे–१४ मा अवस्थित छ। जसलाई दोस्रो विश्वयुद्धमा ‘बर्मा रोड’ को नामबाट चिनिन्थ्यो।
एक वर्षअघि विद्रोहीले उक्त सहर नियन्त्रणमा लिँदा जुन्टा भनिने सैन्य सरकारविरुद्धको ठूलो जितको रुपमा लिइएको थियो। तर म्यानमारको सेनाले जम्मा तीन हप्ताको कारबाहीमा उक्त सहर नियन्त्रणमा लिन सफल भएको छ।
यसले जुन्टा सरकार पुनः शक्तिशाली बनेको देखिएको छ। म्यानमारको सेनाले विद्रोही समूहको कब्जामा रहेको सहर नियन्त्रणमा लिन लगातार हवाई र ड्रोन आक्रमण गरेको थियो।
रिपोर्टका अनुसार यहाँ सैनिकले ५ सय पाउण्डसम्मका बम खसालेको छ। यो आक्रमणमा ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ। तर के कति क्षति भयो भन्नेबारेको विवरण भने सार्वजनिक भएको छैन।