भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर खराब श्रेणीमा पुगेको छ। आइतबार बिहान न्यूनतम् तापक्रम २०.६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन सामान्य भन्दा २.२ डिग्री बढी रहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार, बिहान ९ बजे दिल्लीको वायुको गुणस्तर सूचकांक २८४ रेकर्ड गरिएको थियो, जुन ‘खराब’ श्रेणीमा पर्दछ। दिल्ली संसारको सबैभन्दा प्रदूषित सहरमध्ये एक बन्दै आएको छ। हावाको गति सुस्त रहँदा आगामी दिनहरूमा प्रदूषण स्तर अझ बढ्न सक्ने विज्ञको अनुमान छ।
वायु गुणस्तर सूचकांक वर्गहरू अनुसार, ० देखि ५० लाई ‘राम्रो’, ५१ देखि १०० लाई ‘सन्तोषजनक’, १०१ देखि २०० लाई ‘मध्यम’, २०१ देखि ३०० लाई ‘खराब’, ३०१ देखि ४०० लाई ‘धेरै खराब’ र ४०१ देखि ५०० लाई ‘गम्भीर’ स्तरमा पुगेको मानिन्छ।
दिल्लीमा हरेक बर्ष जाडोको समय सुरु भएदेखि वायु प्रदूषण बढ्ने गरेको छ। दूषित हावाका कारण दिल्लीमा बसोबास गर्नेहरूको जीवन ११.९ वर्षसम्म घट्ने गरेको युनिभर्सिटी अफ सिकागोको इनर्जी पोलिसी इन्स्टिच्यूटको अध्ययनले देखाएको छ।
हावा प्रदूषित हुँदा विशेषगरी रूघाखोकी, आँखा, स्वास प्रश्वास लगायतमा समस्या देखिने गरेको छ। प्रदूषणबाट जोगिन अति आवश्यक पर्दामात्र घर बाहिर निस्कने र निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाएर निस्कन चिकित्सकले सुझाव दिएका छन्।