वीरगञ्ज । सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिनका लागि परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले तीव्र विरोध जनाएको छ । अदालतको आदेशलाई राजनीतिक प्रतिशोध र मधेस आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रका रूपमा व्याख्या गर्दै जसपाले बिहीबार वीरगञ्जको घण्टाघरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा सहभागी जसपाका कार्यकर्ताहरूले “उपेन्द्र यादवमाथि षड्यन्त्र बन्द गर”, “मधेस आन्दोलनको अपमान बन्द गर” जस्ता नारा लगाएका थिए । सर्वोच्च अदालतले २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको छानबिन गर्न परमादेश जारी गरेको थियो ।
जसपाका नेताहरूले सर्वोच्च अदालतले जारी गरेको परमादेशलाई मधेस आन्दोलनका उपलब्धिमाथि प्रहार र पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक रूपमा कमजोर बनाउने प्रयासका रूपमा लिएका छन् ।
घण्टाघरमा आयोजित विरोध सभामा जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले चार-चार वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय आयोगले गौर हत्याकाण्डबारे प्रतिवेदन तयार पारे पनि सरकारले प्रतिवेदन सार्वजनिक नगरेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पूर्वाग्रहपूर्ण तरिकाले फसाउन खोजेको आरोप लगाए ।उनले सर्वोच्चको आदेशलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै मधेसमा फेरि आन्दोलन चर्किने र रणभूमि बन्ने चेतावनी दिए ।
सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा जसपा नेपालका केन्द्रीय सदस्य सिंहासन साह कलवारले अदालतको निर्णयलाई मधेस आन्दोलनको भावनामाथिको आघातका रूपमा चित्रण गरे । उनी अदालतको कदमलाई मधेसी जनताको हक अधिकार र पहिचानको आन्दोलनलाई कमजोर बनाउने प्रयास भएको दाबी गरे ।
कलवारले अदालतले जारी गरेको परमादेशलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताए । आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिए देशव्यापी विरोध प्रदर्शनमा उत्रिने चेतावनी पनि दिए । “उपेन्द्र यादवले सधैँ गौर हत्याकाण्डको निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तर, उनलाई जानाजान फसाउन खोजिएको छ । यदि यस्तै अवस्था रह्यो भने मधेस फेरि आन्दोलनको रणभूमि बन्नेछ,” कलवारले भने ।”
विरोधमा सहभागी जसपा नेपालकी नेतृ करिमा बेगमले मुद्दालाई पुनः उठाएर मधेस आन्दोलनका नेताहरूलाई निशाना बनाउन खोजिएको आरोप लगाइन । “यो कदमले मधेसी जनताको आत्मसम्मान र अधिकारको लडाइँलाई कमजोर बनाउने प्रयास हो,’ उनले भनिन्, “हामी मधेसी जनताको अधिकार र सम्मानका लागि लडिरहन्छौँ । यदि यो षड्यन्त्र बन्द भएन भने मधेस फेरि आन्दोलनको आगोमा बल्नेछ । हामी त्यो दिनको पर्खाइमा छौँ ।”
गौर हत्याकाण्ड मधेस आन्दोलनको एउटा संवेदनशील घटना हो । २०६३ मा मधेसी जनअधिकार फोरम (हालको जसपा) र नेकपा माओवादीका कार्यकर्ताबिच भएको हिंसात्मक झडपमा २७ जनाको ज्यान गएको थियो । घटनालाई लिएर विभिन्न समयमा छानबिन समिति गठन भए पनि ठोस नतिजा नआएको र प्रतिवेदनहरू सार्वजनिक नभएको भन्दै मधेसी नेताहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।