×

वीरगञ्ज । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले कूटनीतिक वृत्तमा नयाँ चासो पैदा गरेको छ।

भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिएका छन्। जवाफमा प्रधानमन्त्री मोदीले आफू नेपाल आउन निकै उत्सुक रहेको र निकट भविष्यमा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेको भ्रमण दलमा सहभागी अधिकारीहरूले बताएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री मोदीको सम्भावित नेपाल भ्रमणका लागि अब नेपाल सरकारका तर्फबाट औपचारिक निमन्त्रणा पठाउने तयारी भइरहेको छ। यसले नेपाल–भारत सम्बन्ध तथा उच्चस्तरीय कूटनीतिक भेटघाटको सम्भावनालाई थप बलियो बनाएको विश्लेषण गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकालमा दुई देशबीच उच्चस्तरीय भ्रमणको विषयलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला लामिछाने र मोदीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री शाह पदमा नियुक्त भएलगत्तै मोदीले भारत भ्रमणका लागि निम्तो पठाएका थिए। प्रधानमन्त्री शाहले निम्तो स्वीकार गरे पनि हालसम्म उनको भारत भ्रमण हुन सकेको छैन।

कूटनीतिक स्रोतहरूका अनुसार प्रधानमन्त्री शाहले आफ्नो कार्यकालको पहिलो वर्ष विदेश भ्रमण नगर्ने नीति अवलम्बन गरेका कारण नेपाल–भारत उच्चस्तरीय भ्रमण आदानप्रदानको विषय केही पेचिलो बनेको छ।

भारतीय प्रधानमन्त्री मोदीले यसअघि चार पटक नेपालको भ्रमण गरिसकेका छन्। सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा पहिलोपटक नेपाल आएका मोदी त्यसपछि सार्क शिखर सम्मेलन, जनकपुर तथा सन् २०२२ मा लुम्बिनी भ्रमणमा आएका थिए।

परम्परागत रूपमा नेपाली प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत हुने अभ्यास रहे पनि पछिल्ला वर्षहरूमा यसमा केही परिवर्तन देखिएको छ। यस्तो अवस्थामा लामिछानेको निमन्त्रणापछि प्रधानमन्त्री मोदीको सम्भावित पाँचौँ नेपाल भ्रमणले गति लिन्छ वा लिँदैन भन्ने विषय आगामी कूटनीतिक पहल र सरकारी निर्णयमा निर्भर रहने देखिएको छ।

Back to top