एएफसी यु–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ मा नेपाल बुधबार घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको छ।
दुई हप्ताअघि बङ्गलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ६–१ र ८–० ले हराएको थियो। भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा बुधबार खेल सुरु भएको एक मिनेट पनि बितेको थिएन, सेनु परियारले गोल गरी नेपाललाई अग्रता दिलाइन्उ। सुक्रिया मियाले मैदानको दायाँ भागबाट गरेको क्रसमा सेनुले भुटानकी गोलकिपर पेमा याङ्जोमलाई छक्काउँदै गोल गरिन्।
सो गोलपछि नेपालका लागि भुटानविरुद्धको लगातार तेस्रो खेल पनि सहज हुने अनुमान गरिएको थियो तर भुटानले घरेलु मैदानमा कडा टक्कर दिएर नेपाललाई खेल जित्न दिएन। खेलको १८ औँ मिनेटमा केल्डेन वाङ्मोले डिबक्सभित्रबाट सशक्त प्रहारमार्फत गोल गरी खेललाई बराबरीको स्थितिमा ल्याइन्।
सो गोलमा नेपालका डिफेन्डर र गोलकिपर लीला जोशीको पनि गल्ती थियो। आफ्नो स्थान छोडेर धेरै अगाडि बढेकै कारण गोलपिकर लीलाले वाङ्मोको प्रहारलाई रोक्ने अवसर पाइनन्। साफ यु–२० च्याम्पियनसिपमा भुटानले नेपालविरुद्ध गरेको एक मात्र गोल वाङ्मोले नै गरेकी थिइन्।
मध्यान्तरपछिको खेलमा नेपालले गरेको गोलले मान्यता पाएन। खेलको ५९ औँ मिनेटमा सेनुको पासमा पूर्णिमाले बल गोलपोस्टमा छिराएकी थिइन्। तर सहायक रेफ्रीले अफसाइडको झन्डा उठाएपछि गोलले मान्यता पाएन। यसअघि बुधबारै भएको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरबलाई १५–० ले हराएको थियो।
उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो। सो समूहमा रहेको अर्को टिम मङ्गोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो। नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ तर भुटानसँगको बराबरीले नेपालको सो अभियानमा पनि धक्का लाग्न सक्छ।
३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन्। हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छन्।