वीरगञ्ज । मध्यपूर्वमा अमेरिका र इरानबिचको तनाव फेरि चुलिएको छ । होर्मुज जलडमरूमध्य हुँदै गइरहेका तीन वटा व्यावसायिक ट्याङ्करमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै अमेरिकाले बुधवार बिहान सबेरै इरानका विभिन्न सैन्य संरचनामाथि शृङ्खलाबद्ध हवाई आक्रमण गरेको जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानको वायु रक्षा प्रणाली, तटीय निगरानी संयन्त्र, क्षेप्यास्त्र प्रहार स्थल तथा ड्रोन लन्च प्याडलाई लक्षित गरी “शक्तिशाली आक्रमण” गरिएको हो । अमेरिकाले इरानको कदमलाई युद्धविरामको उल्लङ्घन भनेको छ ।
यता, इरानी सरकारी सञ्चारमाध्यमले दक्षिणी सहर सिरिक, केश्म टापु र बन्दर अब्बास क्षेत्रमा कैयौँ विस्फोट भएको पुष्टि गरेका छन् । सिरिकको ताहरुई क्षेत्रमा छ वटा विस्फोटक गोलाहरू खसालेको तथा सात वटा विस्फोटको आवाज सुनिएको जनाइएको छ । प्रेस टिभीका अनुसार क्षति वा हताहतीबारे तत्काल विवरण सार्वजनिक गरिएको छैन । इरानी पक्षले आक्रमणमा केही नागरिक क्षेत्रसमेत प्रभावित भएको दाबी गरेको छ ।
इरानको विदेश मन्त्रालयले अमेरिकी कारबाहीलाई शान्ति सम्झौताको उल्लङ्घन भन्दै निन्दा गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा इरानले आफ्नो राष्ट्रिय सुरक्षा र हितको रक्षा गर्न आवश्यक जुनसुकै कदम चाल्ने चेतावनी दिएको छ ।
अर्धसरकारी समाचार संस्था फर्सका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले ‘स्ट्रेट अफ होर्मुज’ पार गर्न खोजेका दुई ट्याङ्करमाथि सोमबार राति कारबाही गरेको थियो । फर्सले ती ट्याङ्करले चेतावनीको बेवास्ता गरेको दाबी गरेको छ । घटनापछि केही अन्तर्राष्ट्रिय जहाजहरूले मार्ग परिवर्तन गरेको जनाइएको छ ।
घटनामा कतारको एलएनजी बोकेको ‘अल-रेकाय्यात’ नामक ट्याङ्कर र साउदी अरबको झण्डावाहक कच्चा तेल बोकेको अर्को जहाजमा क्षति पुगेको बताइएको छ । ‘अल-रेकाय्यात’ले आक्रमणपछि सङ्कट सङ्केत (डिस्ट्रेस सिग्नल) पठाएको थियो । कतारले उक्त घटनाको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुन र विश्व ऊर्जा सुरक्षामाथिको गम्भीर खतरा भनेको छ । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले इरानलाई कानुनी रूपमा जिम्मेवार ठहर गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् ।
घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ । अमेरिकी कच्चा तेलको मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलर पुगेको छ । ऊर्जा आपूर्ति अवरुद्ध हुने चिन्ताका कारण लगानीकर्ताहरू सतर्क बनेका छन् । मुद्रास्फीति र उच्च ब्याजदरको जोखिमलाई ध्यानमा राख्दै १० वर्षे अमेरिकी ट्रेजरी बन्डको प्रतिफलमा समेत गिरावट आएको छ ।
तनावपूर्ण अवस्थाबिच अमेरिकाले जुन १७ मा भएको सम्झौताअनुसार इरानलाई दिइएको तेल व्यापारसम्बन्धी छुटसमेत खारेज गरेको छ । नेटो शिखर सम्मेलनका लागि टर्कीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको कारबाहीमा सहयोगी राष्ट्रहरूको पर्याप्त समर्थन नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
यसैबिच, इरानका राष्ट्रपति मसूद पेजेश्कियान इराकबाट तेहरान फर्किएका छन् । दिवङ्गत सर्वोच्च नेता अली खामेनीको शव नजफबाट करबला हुँदै बिहीबार मशहदमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको जनाइएको छ ।
होर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिन्छ । त्यहाँ उत्पन्न अस्थिरताले विश्व बजार, ऊर्जा सुरक्षा र क्षेत्रीय शान्तिमा गम्भीर असर पार्ने विश्लेषण गरिएको छ ।