लेबनानका राष्ट्रपति जोसेफ आउनले जुलाई महिनाको अन्त्यअघि अमेरिकाको ह्वाइट हाउस पुगेर राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी भइरहेको बताएका छन्।
उक्त भ्रमण इजरायलसँगको रूपरेखा सम्झौतालाई अघि बढाउने उद्देश्यले हुन लागेको हो । यो भ्रमण आइतबार दुई नेताबीच भएको १७ मिनेट लामो टेलिफोन संवादपछि तय भएको हो। आउनले उक्त वार्तालाई सकारात्मक भएको बताए।
लेबनानी दैनिक पत्रिका अन–नहारलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति आउनले उक्त सम्झौता आदर्श नभए पनि दक्षिण लेबनानको वर्तमान शक्ति सन्तुलन र यथार्थ अवस्थालाई स्वीकार गर्दै यसलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार हालको शक्ति सन्तुलन इजरायलको पक्षमा रहेको छ। उनले यस सम्झौताले लेबनानलाई आफ्नो अधिकारको रक्षा गर्न तथा कब्जामा रहेका भूमि फिर्ता ल्याउने प्रयासबाट रोक्न नसक्ने पनि स्पष्ट पारे।
राष्ट्रपति आउनले लेबनानी अधिकारीहरूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई उक्त पहाड लेबनानी सेनाकै नियन्त्रणमा रहने सुनिश्चित गर्न आग्रह गरेको र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि त्यस प्रस्तावमा सहमति जनाएको बताए।
यसैबीच, अमेरिकी कंग्रेस सदस्य डेलिया रामिरेजले गाजास्थित कमाल अदवान अस्पतालका निर्देशक डा. हुस्साम अबु सफियालाई तत्काल रिहा गर्न माग गरे।
साफियालाई सन् २०२४ डिसेम्बर २७ मा इजरायली सेनाले पक्राउ गरेको थियो।
रामिरेजले डा. अबु सफियालाई १८ महिनादेखि कुनै आरोप वा मुद्दाबिना हिरासतमा राखिएको बताउँदै, इजरायली सैनिकको कुटपिटका कारण उनी अहिले गम्भीर स्वास्थ्य अवस्थामा पुगेको विवरण सार्वजनिक भएको उल्लेख गरे।
उनको यो अपिल डा. अबु सफियाका वकिल नासेर ओदेहले चिकित्सकको स्वास्थ्य अवस्था तीव्र रूपमा बिग्रँदै गएको र उनको ज्यानमा प्रत्यक्ष जोखिम रहेको चेतावनी दिएपछि आएको हो।