वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ अन्तर्गत फूलबारी टोलमा खानेपानीको समस्या समाधानका लागि आफै जुटेका स्थानीय अहिले जनप्रतिनिधिको हस्तक्षेपका कारण थप तनावमा परेका छन् ।
स्थानीयले आफ्नो पहलमा वीरगञ्ज महानगर कार्यालयसँगको सहकार्यमा जडान गरेको बोरिङ मार्फत सुरु गरेको पानी वितरण कार्यमा वीरगञ्ज – १२ वडाध्यक्ष सुरेश गुप्ताले हस्तक्षेप गर्नुका साथै पाइपलाइन विस्तारका लागि सङ्कलित रकमसमेत लिएका छन् ।
वडाध्यक्ष गुप्ताले ९८ हजार रुपैयाँ पुनः स्थानीयलाई फिर्ता गर्नुपर्ने भन्दै लिएको स्थानीयले बताए । पटक–पटक वडा कार्यालय धाउँदा पनि सुनुवाइ नपाएपछि स्थानीय सञ्चारकर्मी अमित अग्रवालको पहलमा टोलवासीले नगरप्रमुख राजेशमान सिंहसँग समन्वय गरेर पोलमा बोरिङ जडान गराएका थिए ।
बोरिङ जडान भए पनि पाइपलाइन विस्तारको काममा केही दिन समय लाग्ने जानकारी पाएपछि टोलवासीले समिति गठन गरेर आफै चन्दा सङ्कलन गरेर पाइप विस्तारको काम अघि बढाएका थिए । तर, पाइप विस्तार कै क्रममा वडाध्यक्ष सुरेश गुप्ताले आफ्ना केही समर्थकसँग पुगेर पुगेर काम रोकिदिएका छन् ।
स्थानीयहरूका अनुसार, शनिवार बिहान वडाध्यक्ष गुप्ताले सञ्चारकर्मी अग्रवालसँग अपमानजनक व्यवहार गर्दै हातपात गर्न समेत खोजेका थिए । “टोलवासीबाट पाइप विस्तारका लागि सङ्कलित ९८ हजार रुपैयाँ वडाध्यक्ष सुरेश गुप्ताले जबरजस्ती लिएर गए,” स्थानीय निक्की नेपालले भनिन्, “रकम फिर्ताका लागि पटक–पटक सम्पर्क गर्दा वडाध्यक्षले ‘म जितपुर छु, पछि कुरा गरौँला’ भन्दै आलटाल गरिरहेका छन् ।”
सञ्चारकर्मी अग्रवालले टोलवासीसँग जबरजस्ती गर्दै तिन हजार रुपैयाँ माग गरेको आरोप निराधार रहेको स्थानीय सुरेन्द्र शर्माले पनि बताए । पाइपलाइन विस्तारको काम द्रुतगतिमा होस् भनेर टोलवासी कै सहमतिमा प्रत्येक घरबाट तिन हजार रुपैयाँ उठाइएको शर्माले बताए । “पैसा असुल्यो, जबरजस्ती गर्यो जस्ता सम्पूर्ण आरोपहरू गलत छन् । वडाध्यक्ष सुरेश गुप्ताले बरु हामी टोलवासीको पानीको समस्या समाधान गर्न कुनै पहल गरेका छैनन्,” शर्माले यात्रा डेलीसँग भने ।
सोही गरी अर्का स्थानीय राम नारायण साहले वडाध्यक्ष गुप्ताले पानीको समस्या समाधान गर्न कुनै पहल नगरेपछि स्थानीयहरूको आग्रहमा सञ्चारकर्मी अग्रवालले महानगरसँग पहल गरेर बोरिङ जडान गर्ने व्यवस्था गरेका थिए । “हामीले आग्रह गरेपछि उनले समिति गठन गर्दै महानगर प्रमुख राजेशमान सिंहसँग बोरिङ जडान गर्ने व्यवस्था मिलाए । पाइपलाइन विस्तारमा समय लाग्ने भएपछि हामी टोलवासीले नै लगत अनुमान गरेर प्रत्येक घरबाट तिन हजार रुपैयाँ मिलाउने निर्णय गरेका हौँ,” साहले यात्रा डेलीसँग भने, “आवश्यक परेको खण्डमा अझै पैसा मिलाउन पनि हामी तयार छौँ ।”
स्थानीयहरूका अनुसार वडाध्यक्ष गुप्ताले बोरिङ जडानको समयमा उनीसँग समन्वय नगरेको भन्दै चिढिएर यस्तो हरकत गरेका हुन् । “वडामा आफ्नो वर्चस्व कम हुन्छ लागेपछि उनले हस्तक्षेप गर्दै निराधार आरोपहरू लगाएका हुन्,” स्थानीय तीर्थ मल्ल ठकुरीले भने । उनले बोरिङ जडान गरेबापत महानगर प्रमुख सिंह प्रति टोलवासीले सामाजिक सञ्जाल मार्फत आभार प्रकट गरेपछि चिढिएका वडाध्यक्षले हस्तक्षेप गरेको पनि आरोप लगाए ।
सञ्चारकर्मी अग्रवालका अनुसार, वडाध्यक्ष गुप्ताले पानीको वितरणको विषयलाई लिएर धम्कीपूर्ण भाषा प्रयोग गर्दै “पानी जहाँ मन लाग्छ उतै पठाउँछु, नभए बन्द गरिदिन्छु” भनेका छन् ।
पानीको अत्यावश्यकताका बिच आफैँ जुटेर समाधान खोज्दा वडाध्यक्षबाट अपमानित र अप्ठ्यारो बनाइएको भन्दै आक्रोशित टोलवासीले सामूहिक रूपमा पाइप विस्तारको काम अगाडि बढाइरहेका छन् । उनीहरूले सार्वजनिक हितका कार्यमा राजनीति नगरिनु पर्ने माग गर्दै चन्दा फिर्ता गर्न वडाध्यक्षलाई दबाब दिएका छन् ।
स्थानीयहरूले वडाध्यक्ष गुप्ताको विषयमा महानगर प्रमुख सिंहलाई पनि जानकारी गराएको बताए । यस विषयमा प्रतिक्रिया लिन वडाध्यक्ष गुप्तालाई फोन गर्दा उनले प्रयोग गर्ने ९८५५०३२६२८ नम्बर अफ रहेकोले सम्पर्क हुन् सकेन ।