×

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीलाई मङ्गलबार बिदाइ गरेको छ। ​ 

ललितपुरस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले नेपाली महिला यु–२० टोलीलाई शुभकामनासहित बिदाइ गरे। 

नेपाल यु–२० महिला टोली उमेर समूहमा उपाधिको खडेरी तोड्ने लक्ष्यसहित बङ्गलादेश प्रस्थान गर्दै छ। नेपाली महिला फुटबलले साफ यु–१५ को उपाधि जितेको छ। यद्यपि साफ यु–१९ र यु–२० मा च्याम्पियन हुन सकेको छैन। 

यामप्रसाद गुरुङको प्रशिक्षकत्वमा नेपाली टोलीले बङ्गलादेशमा च्याम्पियन बन्ने लक्ष्यसहित राम्रो तयारी गरेको छ। बङ्गलादेशको ढाकामा जुलाई ११ देखि २१ सम्म हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र सहभागी छन्। जसमा गत विजेता बङ्गलादेशसहित नेपाल, भुटान र श्रीलङ्का छन्।

नेपालले च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरेको मुख्य प्रशिक्षक गुरुङले बताए। उनले अहिले प्राविधिक पक्ष र रणनीतिलाई विशेष जोड दिइएको बताउँदै टोलीले एकलभन्दा समूहगत प्रयासलाई ध्यान दिएर प्रशिक्षण गरिरहेको बताए।  नयाँ खेलाडीमा मीना देउवा र डिफेन्डरमा अनिशा राईले राम्रो गर्ने विश्वास व्यक्त गरे। 

तीन साताअघिबाट अभ्यासमा जुटेको टोलीले कठिन अभ्याससँगै केही मैत्रीपूर्ण खेल पनि खेलेको छ । सुरुवाती १५ दिनमा प्राविधिक गृहकार्य गरेपछि उल्लेख्य सुधार आएको प्रशिक्षक गुरुङको दाबी छ।

यस पटक डबल राउन्ड रोबिनका आधारमा च्याम्पियनसिपका खेलहरू खेलाइने छ। हरेक टोलीले अर्को टोलीसँग दुई दुई खेल खेल्ने छन् र अन्तिममा धेरै अङ्क जोड्ने टोली च्याम्पियन हुने छ। च्याम्पियनसिपमा नेपालको पहिलो खेल जुलाई १३ मा बङ्गलादेशसँग, दोस्रो खेल जुलाई १७ मा श्रीलङ्कासँग हुने छ । यसै गरी जुलाई १९ मा भुटान र जुलाई २१ मा बङ्गलादेशसँग खेल्ने तालिका छ।

यस प्रतियोगितालाई अगस्ट २ देखि १० सम्म भुटानमा हुने एएफसी यु–२० महिला एसियन कप छनोटको तयारीका रूपमा समेत हेरिएको छ। एसियन कप छनोटमा नेपाल बलियो टोली उत्तर कोरियासहित समूह ‘ए’ मा छ। यस समूहमा आयोजक भुटान, मङ्गोलिया र साउदी अरब पनि छन्। 

नेपाली महिला यु–२० मा बिर्सना चौधरीलाई कप्तान नियुक्त गरिएको छ । अन्य खेलाडीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ,सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुव्रिmया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेका छन्। 

Back to top