×

उपाधि दावेदार स्पेनले युइएफए महिला युरोपियन च्याम्पियनसिपमा सानदार सुरुआत गरेको छ।

गएराति  स्विट्जरल्यान्डको वाङ्कडोर्फ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा स्पेनले पोर्चुगलविरुद्ध ५–० को सहज जित दर्ता गर्यो।

समूह ‘बी’ अन्तर्गतको खेलमा स्पेनलाई जित दिलाउन एस्थर गोन्जालेजले दुई तथा विकी लोपेज, कप्तान एलेक्सिया पुटिलास र क्रिस्टिना मार्टिन प्रिएटोले एक–एक गोल गरे।

खेलको दोस्रो मिनेटमै गोन्जालेजको गोलमार्फत स्पेनले अग्रता लिएको थियो।  पाँच मिनेटपछि नै लोपेजले टोलीको अग्रता दोब्बर बनाइन्।

पुटिलासले ४१औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरिन्। दुई मिनेटपछि गोन्जालेजले व्यक्तिगत दोस्रो गोल गर्दा स्पेन पहिलो हाफमै ४–० ले अगाडि बढ्यो।

थप एक गोलका लागि भने स्पेनले खेलको अन्तिम समयसम्म कुर्नुपरेको थियो। इन्जुरी समयमा प्रिएटोले स्पेनका लागि पाँचौं गोल गरिन्।

यही समूहको अर्को खेलमा इटालीले बेल्जियमविरुद्ध १–० को कठिन जित निकाल्यो। खेलको ४४औं मिनेटमा एरियाना कारुसोले गरेको एकमात्रै गोल इटालीको जितमा पर्याप्त बन्यो।

प्रतियोगिता अन्तरगत आज डेनमार्क र स्वीडेन तथा आठ पटकको च्याम्पियन जर्मनी र पोल्याण्ड आमने सामने हुनेछन्। 

Back to top