मुम्बई । अभिनेता धर्मेन्द्रकी जेठी श्रीमती प्रकाश कौर र कान्छी श्रीमती हेमा मालिनी दुवैले सधैँ परिवारलाई सबैभन्दा बढी प्राथमिकता दिँदै आएका छन्। हालै धर्मेन्द्रको निधन भएपछि हेमा मालिनीले परिवार र सम्बन्धका बारेमा खुला कुराकानी गरेकी छन्।
उनले अभिनेता सनी देओल र बबी देओलसँगको आफ्नो सम्बन्धबारे चर्चा गर्दै परिवार आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण भएको बताएकी छन्। हेमा मालिनीले आफ्नो व्यक्तिगत जीवनलाई सधैँ चर्चा र लाइमलाइटभन्दा टाढा राख्ने प्रयास गरे पनि उनको निजी जीवन सधैँ चर्चाको विषय बन्ने गरेको छ। यसैबिच एक अन्तर्वार्तामा उनलाई धर्मेन्द्रले पठाएको अन्तिम सन्देशका बारेमा सोधिएको प्रश्नको उनले खुलेर जवाफ दिएकी छन्।
‘हिन्दी रस’ सँगको कुराकानीमा हेमा मालिनीले धर्मेन्द्रको अन्तिम सन्देश स्मरण गर्दै भनिन्, ‘मलाई धर्मेन्द्र जीले भन्नुभएको थियो कि जुनसुकै परिस्थिति आए पनि परिवारसँगै बस्नु।’ धर्मेन्द्रले जति नै काम भए पनि परिवारलाई पहिलो प्राथमिकतामा राख्न सम्झाएको उनले उल्लेख गरिन्।
सनी र बबी देओलका बारेमा कुरा गर्दै उनले ती दुवै जना निकै राम्रो भएको बताइन्। उनले भनिन्, ‘बबी निकै राम्रो छ, हामी सधैँ सँगै छौँ। हामीहरू पब्लिसिटी गर्दैनौँ, देखावटी गर्दैनौँ। हामी आपसमा निकै राम्रोसँग बस्छौँ र भित्रैदेखि हाम्रो एउटा बलियो लगाव छ। हामी एउटा सुखी परिवार जस्तै हौँ।’ धर्मेन्द्रले आफ्नो व्यक्तिगत जीवनलाई कहिल्यै पनि दुनियाँको अगाडि ल्याउन मन नपराउने गरेको उनले जानकारी दिइन्।
सोही अन्तर्वार्तामा हेमा मालिनीलाई एक समय उद्योगकै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीका रूपमा रहेको विषयमा प्रश्न सोधिएको थियो, जसमा उनले आफूले निकै कम रकम पाउने गरेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘मलाई धेरै कम रकम मिल्थ्यो। निर्देशक र निर्माताहरूले मलाई मन पराउँथे तर मैले कहिल्यै पैसाका लागि काम गरिनँ। नाम चल्दै जाँदा उनीहरूले बिस्तारै अलिअलि पैसा बढाउँदै जान्थे।’
आजभोलिका कलाकारले पाउने जस्तो मोटो रकम आफ्नो समयमा नपाइने र आफूहरूले निकै कम पारिश्रमिकमा काम गरेको उनले स्पष्ट पारिन्।