अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरू आफ्नो सैन्य आक्रमणबाट पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन्। आणविक केन्द्रमा भएको आक्रमणले केही भौतिक क्षति गरे पनि पूर्णरूपमा नष्ट गर्न नसकेको गुप्तचर निकायले गरेको अनुसन्धानले देखाए पनि ट्रम्पले पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका हुन्।
ट्रम्पको प्रशासनले इरानमाथि अमेरिकी हमलाले उसको आणविक कार्यक्रम समाप्त नगरेको भन्ने प्रतिवेदनलाई निरन्तर अस्वीकार गर्दै आएको छ । पेन्टागनको रक्षा गुप्तचर एजेन्सीबाट प्रारम्भिक क्षति मूल्याङ्कनको विवरण अमेरिकी साझेदार सीबीएस र अन्य मिडियामा चुहावट भएको थियो। गुप्तचरको सूचना चुहावटलाई लिएर अमेरिकी मिडियामाथि ट्रम्प आक्रोशित भएका छन्। यस्तै मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफले चुहावटलाई देशद्रोहको संज्ञा दिएका छन्।
यस्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान आक्रमणबाट पछि हटेको भन्दै आफ्नो देशको लागि ऐतिहासिक विजय भएको दाबी गरेका छन्। उता इरानका राष्ट्रपति मासाउद पेजेस्खिनले इरानका नागरिकको पहलमा १२ दिने युद्धको अन्त्य गर्न सफल भएको प्रतिक्रिया दिएका छन्। युद्धविरामसँगै इरानको जनजिवन सामान्य बन्दै गएको छ। नागरिकले उत्सव मनाइरहेका छन्। ट्रम्पको चेतावनीपछि तेहरान छाडेकाहरू फर्किन थालेका छन्।