×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको **‘एक्सन टिम’**को नेतृत्व तथा जिम्मेवारी सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई सुम्पिएको छ।

महानगरपालिकाका अनुसार सोमबारदेखि मियाँले जिम्मेवारी सम्हालेसँगै सहरका विभिन्न स्थानमा सरसफाइलाई प्रभावकारी बनाउने तथा सडकपेटी (फुटपाथ) अतिक्रमण हटाउने विशेष अभियान सञ्चालन गरिनेछ।

जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले सहरमा कुनै पनि प्रकारको अतिक्रमण र फोहोर हुन नदिन तथा महानगरले सञ्चालन गरिरहेका सरसफाइ तथा व्यवस्थापनका कार्यमा कुनै कमी–कमजोरी हुन नदिन एक्सन टिमलाई कडा निर्देशन दिएका छन्।

उनले अभियान मुख्य सडकमा मात्र सीमित नरही महानगरका ३२ वटै वडामा प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिए। सबै वडामा सरसफाइ, सार्वजनिक स्थलको संरक्षण तथा अतिक्रमण नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाइने उनले बताए।

कार्यवाहक प्रमुख आलमले महानगरको गरिमा उच्च राख्न, नागरिकलाई स्वच्छ र सुरक्षित वातावरण उपलब्ध गराउन तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित समस्याको समाधानमा परिणाममुखी ढंगले काम गर्न एक्सन टिमलाई निर्देशन दिएका छन्। उनले नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर सरसफाइ तथा व्यवस्थापन अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

महानगरपालिकाले सञ्चालन गर्न लागेको यस अभियानबाट सार्वजनिक स्थानको सरसफाइ, फुटपाथ अतिक्रमण नियन्त्रण तथा व्यवस्थित शहरी वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

Back to top