फाइल तस्बिर ।
वीरगञ्ज । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले बजेट वितरणको असमानताप्रति कडा आपत्ति जनाउँदै संसद्मा व्यक्त गरेको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ ।
डा. सिंहले संसद्मा “नेपालका चार–पाँच जिल्लालाई मात्र बजेट केन्द्रित गरिएको भन्दै बाँकी जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिऊँ” भन्ने व्यङ्ग्यात्मक अभिव्यक्ति दिएपछि सत्तापक्ष नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएका थिए ।
बर्तौलाले डा. सिंहको अभिव्यक्तिलाई “राष्ट्रघाती” भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । बर्तौलाको माग अनुसार सभामुख देवराज घिमिरेले स्वीकार गर्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन समेत दिए ।
घटनापछि सांसद डा. सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो आक्रोश र तर्क प्रस्तुत गरेका छन् । उनले आफ्नो अभिव्यक्तिलाई बजेट वितरणको असमानतामाथिको कडा व्यङ्ग्य भएको दाबी गर्दै सरकार र सत्तापक्षका नेताहरूमाथि राष्ट्रियताको “नक्कली पाठ” पढाउने आरोप लगाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद डा. सिंहले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा चार–पाँच जिल्लालाई मात्र प्राथमिकता दिएको र बाँकी जिल्लालाई बेवास्ता गरेको आरोप लगाएका थिए । उनले भने, “हरेक वर्षजस्तो बजेट निश्चित जिल्लामा मात्र जान्छ । चार–पाँच वटा मात्र भाग्यमानी जिल्ला छन् । यदि यस्तै हो भने यी चार–पाँच जिल्लालाई नेपालभित्र राखौँ। बाँकी ७२/७३ जिल्लालाई लिजमा दिऊँ । अमेरिका, भारत कसलाई दिने हो दिऊँ ।”
अभिव्यक्ति संसद्मा तत्काल विवादको कारण बन्यो । एमालेका प्रमुख सचेतक बर्तौलाले डा. सिंहको भनाइलाई “राष्ट्रघाती” र “आपत्तिजनक” भन्दै प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम कारबाहीको माग गरे । सभामुख घिमिरेले डा. सिंहलाई संसदीय मर्यादा कायम राख्न बारम्बार आग्रह गरे पनि उनले आफ्नो भनाइलाई व्यङ्ग्य भएको दाबी गर्दै सभामुखप्रति समेत आक्रोश व्यक्त गरे । उनले सभामुखलाई “एमालेको मात्रै” भएको आरोप लगाउँदै बजेट नजाने जिल्लाका सांसदलाई बोल्न नदिएको गुनासो समेत गरे ।
सभामुखले अन्ततः डा. सिंहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । सभामुखको निर्देशनले सत्तापक्ष र डा. सिंहबिचको तनावलाई थप बढायो । सत्तापक्षका सांसदहरूले नाराबाजी गरे भने सिंहले एमालेलाई “देशप्रति गद्दार” भएको आरोप लगाए ।
संसद्को घटनापछि सांसद डा. सिंहले फेसबुकमा लामो पोस्ट लेख्दै आफ्नो अडान दोहोर्याएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई बजेटको असमान वितरणविरुद्धको व्यङ्ग्य भएको स्पष्ट पारेका छन् । “मैले नेपालका ४/५ जिल्लामा मात्र बजेट पार्ने हो भने बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने भनेको छु । के गलत भनेको छु?” भन्दै उनले प्रश्न गरेका छन् ।
उनले सरकार र सत्तापक्षका नेताहरूमाथि कडा आलोचना गर्दै राष्ट्रियताको विषयमा “नक्कली पाठ” पढाउने प्रयास गरेको आरोप लगाएका छन् । उनले लेखेका छन्, “मिचिएको सिमाना फिर्ता ल्याउन नसक्ने सरकारका दलका प्रमुख सचेतकले नक्कली राष्ट्रियताको पाठ हामीलाई पढाउने? आफ्नै नागरिकलाई पशुजस्तै बेचिदिनेले राष्ट्रियताको गफ हाँक्ने? देशको चल–अचल सम्पत्ति कौडीको भाउमा बेच्नेले नैतिकताको पाठ पढाउने ?”
डा. सिंहले थप आरोप लगाउँदै सरकारले राष्ट्रिय संस्थान र सार्वजनिक जग्गा कार्यकर्ताहरूलाई बाँड्ने, नेपालमाथि ऋणको भार थप्ने, नेपाली युवालाई विदेश पलायन हुन बाध्य पार्ने र शैक्षिक संस्थाहरूलाई ध्वस्त पार्ने काम गरेको दाबी गरेका छन् । उनले प्रश्न गर्दै लेखेका छन्, “राष्ट्रवादको प्रमाणपत्र तपाईँहरूले बाँड्ने? नेपाली जनतालाई थाहा छ, को कति राष्ट्रवादी हो ।”
डा. सिंहको फेसबुक पोस्टले सामाजिक सञ्जालमा तीव्र बहस निम्त्याएको छ । कतिपयले उनको अभिव्यक्तिलाई बजेटको असमान वितरणविरुद्धको सशक्त आवाज मानेका छन् भने कतिपयले उनको शब्द चयनलाई “अमर्यादित” र “राष्ट्रहितविपरीत” ठहर गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले डा. सिंहको अभिव्यक्तिको भर्त्सना गर्दै उनलाई संसद्बाट निलम्बन गर्न समेत माग गरेको छ ।
सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेख्दै डा. सिंहको बचाउ गरेका छन् । उनले लेखेका छन्, “अमरेशजीको भनाइ व्यङ्ग्य हो, तर यो बजेटको अन्यायमाथिको सही टिप्पणी हो । १० लाख जनसङ्ख्या भएको जिल्लाले बजेट नपाउने, तर २ लाखको जिल्लाले बर्सातजस्तै बजेट पाउने?” अर्का प्रयोगकर्ताले भने डा. सिंहको अभिव्यक्तिलाई गलत बताउँदै सांसदले मर्यादा राख्नुपर्ने सुझाव दिएका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को निर्वाचनमा विजयी भएका डा. अमरेश कुमार डा. सिंह यसअघि पनि विवादमा परिसकेका छन् । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) बाट पिएचडी गरेका डा. सिंहले २०८० जेठमा संसद्मा बोल्ने समय नपाएको भन्दै सभामुखको रोस्ट्रममा आफ्नो सर्ट र बनियान खोलेर विरोध जनाएका थिए । घटनाले नेपालको संसदीय इतिहासमा ठूलो हङ्गामा मच्चाएको थियो ।
यसअघि नेपाली काँग्रेसका बागी उम्मेदवारका रूपमा उनले २०७९ मा काँग्रेसकै आधिकारिक उम्मेदवार नागेन्द्र कुमार रायलाई १,७६४ मतान्तरले पराजित गरेका थिए । २०८० साउनमा उनले काँग्रेसको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएका थिए ।
एमालेका प्रमुख सचेतक बर्तौलाले डा. सिंहको अभिव्यक्तिलाई “राष्ट्र विरोधी” भन्दै कडा कारबाहीको माग गरेका छन् । उनले भने, “संसद्को रोस्ट्रमबाट यस्तो आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिने सांसदमाथि कारबाही नगरे संसदीय मर्यादाको के अर्थ रहन्छ ?”
डा. सिंहको अभिव्यक्तिले बजेट वितरणको असमानताको मुद्दालाई पुनः सतहमा ल्याएको छ । नेपालमा विगतदेखि नै बजेट वितरणमा क्षेत्रीय र राजनीतिक प्रभावको आरोप लाग्दै आएको छ । डा. सिंहले आफ्नो अभिव्यक्तिमार्फत सरकारले गर्दै आएको असमानतालाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्न खोजे पनि उनको शब्द चयनले राष्ट्रियताको संवेदनशील मुद्दालाई जोडेर विवाद निम्त्याएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, डा. सिंहको अभिव्यक्ति संसद्मा बजेट वितरणको असमानतामाथि छलफल गराउन सक्षम भए पनि उनको शैली र शब्द चयनले उनको सन्देशलाई कमजोर बनाएको छ ।