वीरगञ्ज । नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीभित्र सल्लाहकार सदस्य तथा वीरगञ्जका पूर्व मेयर विजयकुमार सरावगीको बढ्दो प्रभाव र नेतृत्वको कार्यशैलीलाई लिएर तीव्र विवाद चर्किएको छ ।
हालै सम्पन्न नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष नवराज शर्मामाथि सरावगीको निर्देशनमा कमिटी सञ्चालन गरेको आरोप लाग्दै आएको छ । शर्मामाथिको आरोपले पार्टीभित्र शक्ति सङ्घर्ष र असन्तुष्टिलाई थप बल पुर्याएको छ ।
पार्टी स्रोतका अनुसार, सरावगीले अधिवेशनमा आफ्नो प्यानल जिताउन ठूलो आर्थिक लगानी गरेका थिए । अहिले उक्त लगानीको प्रतिफल स्वरूप कमिटी उनको नियन्त्रणमा रहेको दाबी गरिएको छ ।
यतिसम्मकी महानगर कमिटीको कार्यालय सरावगीकै घरमा सञ्चालित छ । उनको घरमा पार्टी कार्यालय खोलिएको विषयलाई लिएर पार्टी भित्र र बाहिर व्यापक आलोचना समेत भइरहेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष तथा एमालेका युवा नेता राम किशोर सिंह (पराग) ले सरावगीमाथि गम्भीर आरोप लगाएका छन् । “सरावगीले अध्यक्ष शर्मालाई प्रलोभन देखाएर नगर समितिलाई आफ्नो कठपुतली बनाउन खोजेका छन्,” परागले भने । “पार्टी सिद्धान्त र जनताको आवाजमा होइन, व्यक्तिगत स्वार्थमा चलिरहेको छ, यो एमालेको मूल्यमाथिको धोका हो ।”
यसैबिच, महानगर कमिटी सदस्य विकास रौनियारले पनि अध्यक्ष शर्माको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कमिटीमा सक्रिय नरहने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आजबाट केवल नेकपा एमालेको साधारण सदस्य मात्रै हो, कुनै पनि कमिटीमा छैन ।” रौनियारको कदमले नेतृत्वप्रतिको असन्तुष्टि र पार्टीभित्रको सङ्कट थप प्रस्ट भएको छ ।
शनिवार वीरगञ्जको “रोयल पार्टी प्यालेस” मा बिना एजेन्डा र पूर्व छलफल बिना बोलाइएको बैठकले विवादलाई झनै उग्र बनाएको छ । बैठकमा शर्माले “एमाले भनेकै सरावगी हो” भन्दै सरावगीको खुलेर समर्थन गरेको भनाइले अन्य पदाधिकारी र कार्यकर्ताहरू आक्रोशित बनेका छन् । पार्टीका एक सदस्यले शर्माको प्रवृत्तिलाई “पूर्ण अलोकतान्त्रिक र व्यक्तिवादी” भनेर टिप्पणी गरेका छन् । उनका अनुसार, कमिटीका निर्णयहरू प्रक्रियागत रूपमा नभई सरावगीको प्रभावमा लिइँदै आएका छन् ।
अध्यक्ष पदमा पराजित उम्मेदवार सुन्दर प्रसाद कुर्मीले पनि सामाजिक सञ्जालमार्फत नेतृत्वको चर्को आलोचना गरेका छन् । उनले लेखेका छन्, “पार्टीमा सिद्धान्त हराएको छ । नेतृत्व तथाकथित पुँजीवादीको शरणमा पुगेको छ । घोडा अध्यक्षहरू अगाडि-पछाडीने लगेका छन्, सिद्धान्तवादी नेताहरू हराए ।” कुर्मीको व्यङ्ग्यले पार्टीभित्र वैचारिक विचलन र आर्थिक हस्तक्षेपको मुद्दालाई थप सतहमा ल्याएको छ ।
वडाध्यक्ष परागले नेतृत्वलाई विवाद समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् । “कमिटी यदि एक व्यक्तिको घर वा होटेलबाट चल्छ भने, यो एमालेको अपमान हो,” उनले भने, “नेतृत्वले पारदर्शी र लोकतान्त्रिक तरिकाले सङ्गठनलाई अगाडि बढाउनुपर्छ ।”
घटनाक्रमले नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीभित्र गम्भीर आन्तरिक सङ्कट र वैचारिक सङ्कट देखिएको छ । कार्यकर्ताहरूले कमिटी कसरी र कहाँबाट सञ्चालित छ भन्ने प्रश्नमा स्पष्ट जवाफ मागिरहेका छन् । नेतृत्वमाथि विवाद समाधान गरी पार्टीको एकता र विश्वसनीयता जोगाउने दबाब बढ्दो छ ।