फिफा क्लब विश्वकप फुटबल २०२५ नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजेदेखि संयुक्त राज्य अमेरिकामा सुरु हुँदैछ । यसपटक प्रतियोगिता ३२ टोलीसहित अझ ठूलो आकारमा आयोजना हुँदैछ, जुन यसअघि कहिल्यै भएको थिएन ।
के हो क्लब विश्वकप ?
सन् २०२३ सम्म क्लब विश्वकप हरेक डिसेम्बरमा आयोजना हुने वार्षिक प्रतियोगिता थियो, जसमा विभिन्न महादेशीय क्लब प्रतियोगिताका विजेता (६ देखि ८ टोली) मात्र सहभागी हुन्थे ।
तर सन् २०२५ बाट फिफाले यस प्रतियोगितालाई ३२ टोलीमा विस्तार गर्दै हरेक ४ वर्षमा आयोजना हुने बनाएको छ, यो ठ्याक्कै फिफा विश्वकप जस्तै । सन् २०२४ मा वार्षिक संस्करणको रुपमा नयाँ फिफा इन्टरकन्टिनेन्टल कप सुरु गरिएको थियो, जुन पहिलोपटक कतारमा आयोजना भयो । जसमा स्पेनिस क्लब रियल म्याड्रिड विजेता बनेको थियो ।
कस्तो छ नयाँ स्वरुप ?
नयाँ क्लब विश्वकपमा सहभागी ३२ टोलीलाई ८ समूहमा बाँडिएको छ, प्रत्येक समूहमा ४ टोली छन् । समूह चरणमा सबै टोलीले एक–अर्कासँग खेल्नेछन् र शीर्ष दुई टोली नकआउट चरण (राउन्ड अफ १६) मा पुग्नेछन् ।
कहिले हुँदैछ प्रतियोगिता ?
क्लब विश्वकपको समूह चरण स्थानीय समयअनुसार जुन १४ देखि २६, राउन्ड अफ १६ जुन २८ – जुलाई १, क्वार्टरफाइनल ः जुलाई ४ र ५, सेमिफाइनल जुलाई ८ र ९ तथा फाइनल जुलाई १३ मा न्यू जर्सीमा हुनेछ ।
कुन–कुन छन् सहभागी टोली ?
यस संस्करणमा विश्वभरिका चर्चित क्लबहरू सहभागी छन्, जसमध्ये युरोपबाटः रियल म्याड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्यूनिख, चेल्सी, इन्टर मिलान, पेरिस सेन्ट–जर्मेन (पीएसजी), एट्लेटिको म्याड्रिड र युभेन्टस छन् ।
दक्षिण अमेरिकाबाट फ्लामेन्गो, पाल्मेइरास, बोका जुनियर्स, रिभर प्लेट, फ्लुमिनेन्स र बोटाफोगो रहेका छन् ।
यस्तै उत्तर र मध्य अमेरिकाबाट सिएटल साउन्डर्स, एलएएफसी, मोन्टेरे, पाचुका, र आयोजक राष्ट्रबाट लियोनल मेसीको टोली इन्टर मियामी प्रतिस्पर्धामा रहनेछन् ।
एसिया, अफ्रिका र ओसियानियाबाट अल–हिलाल, उल्सान, अल अहली, वाइदाद, र अकल्यान्ड सिटीलगायत छन् ।
विवाद र प्लेअफ
मेक्सिकन क्लब लिओनले २०२३ को कन्काकाफ च्याम्पियन्स कप जितेर छनोट भए पनि मल्टिक्लब स्वामित्व नियम उल्लंघनका कारण फिफाले उसको सहभागिता रद्द गर्यो । तसर्थ, एलएएफसी र क्लब अमेरिकाबीच प्लेअफ गराएर एलएएफसीले अन्तिम स्थान जितेको हो ।
समूह विभाजन
समूह ‘ए’ : पाल्मेइरास, पोर्टो, अल अहली, इन्टर मियामी
समूह ‘बी’ : पीएसजी, एट्लेटिको म्याड्रिड, बोटाफोगो, सिएटल साउन्डर्स
समूह ‘सी’ : बायर्न म्यूनिख, अकल्याण्ड सिटी, बोका जुनियर्स, बेन्फिका
समूह ‘डी’ : फ्लामेन्गो, एस ट्युनिस, चेल्सी, एलएएफसी
समूह ‘एफ’ : रिभर प्लेट, उरावा रेड डायमन्ड्स, मोन्टेरे, इन्टर मिलान
समूह ‘जी’ : फ्लुमिनेन्स, बोरुसिया डर्टमुन्ड, उल्सान एचडी एफसी, मामेलोदी सन्डाउन्स
समूह ‘एच’ : म्यानचेस्टर सिटी, वाइदाद, अल ऐन, युभेन्टस
समूह ‘आई’ : रियल म्याड्रिड, अल हिलाल, पाचुका, एफसी साल्जबर्ग ।
पुरस्कार राशी र प्रसारण
यो संस्करणको क्लब विश्वकपको कुल पुरस्कार राशी १ अर्ब अमेरिकी डलर रहेको छ । जसमा विजेता क्लबले करिब ९७ मिलियन डलरसम्म जित्न सक्छ ।
अमेरिकामा सबै खेल डीएनजेडएनमा निःशुल्क स्ट्रिम गर्न सकिनेछ भने केही खेल च्यानल–फाइचले टीभीमा पनि प्रसारण गर्नेछ ।
विभिन्न एजेन्सीको सहयोगमा