वीरगञ्ज । आमा नेपाल फाउन्डेशनले चराचर खबर अनलाइन मिडियाबाट प्रसारण भएका केही समाचारप्रति गम्भीर असन्तुष्टि जनाउँदै ती समाचारमा सन्तुलित तथा तथ्यमा आधारित पत्रकारिताको मापदण्ड पूरा नभएको आरोप लगाएको छ। संस्थाले असार २५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो धारणा सार्वजनिक गरेको हो।
संविधान, विधिको शासन, मानव अधिकार, महिला सशक्तीकरण, लैङ्गिक समानता, सामाजिक न्याय तथा बाल अधिकारको संरक्षणका लागि क्रियाशील भएको दाबी गर्दै आएको यो गैरनाफामूलक तथा गैरराजनीतिक संस्थाकी अध्यक्ष प्रमिता मानन्धरले विगत छ वर्षभन्दा बढी समयदेखि महिला हिंसा, सम्बन्धविच्छेद, अंश, सम्पत्ति, बाल अभिरक्षा तथा अदालती फैसला कार्यान्वयनसम्बन्धी विषयमा कानुनी संघर्ष गर्दै आएको फाउन्डेशनको भनाइ छ। यस क्रममा उनले व्यक्तिगत, सामाजिक, मानसिक, आर्थिक तथा संस्थागत रूपमा असाधारण कठिनाइ भोग्नुपरेको तर कानुनी प्रक्रियाप्रतिको विश्वास कहिल्यै नगुमाएको फाउन्डेशनको दाबी छ।
फाउन्डेशनका अनुसार सम्बन्धित पारिवारिक विवाद अदालतमा विचाराधीन रहँदा र फैसलापछि पनि मानन्धर र उनका नाबालक छोरीहरूको अधिकार कार्यान्वयनमा पटक-पटक अवरोध उत्पन्न भएको थियो, जसका लागि प्रहरी र प्रशासनिक निकायमा बारम्बार धाउनुपरेको थियो। संस्थाले यसलाई व्यक्तिगत सम्पत्तिको विषय नभई नाबालक छोरीहरूको भविष्य र सुरक्षित जीवनसँग जोडिएको विषयका रूपमा व्याख्या गरेको छ।
विज्ञप्तिमा फाउन्डेशनले असार २० र २१ गते चराचर खबरबाट प्रसारित समाचारमा सम्बन्धित पक्षको आधिकारिक भनाइ, अदालती अभिलेख र कानुनी पृष्ठभूमि पर्याप्त रूपमा नसमेटिएको र अन्तर्वार्तादाताले लगाएका आरोप स्वतन्त्र पुष्टि वा प्रतिवादी पक्षको प्रतिक्रियाबिना नै प्रसारण गरिएको गुनासो गरेको छ। यसले आमजनतामा भ्रम सिर्जना गर्न सक्ने संस्थाको भनाइ छ।
फाउन्डेशनले जिम्मेवार पत्रकारिताका सिद्धान्तमा तथ्य पुष्टि, सबै पक्षको भनाइ समेट्ने र न्यायाधीन विषयमा सन्तुलित प्रस्तुति दिनुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि जोडिएको उल्लेख गरेको छ। साथै, महिला हिंसापीडितविरुद्ध अपुष्ट वा एकपक्षीय सामग्री प्रसारणले सम्पूर्ण पीडित समुदायलाई नै निरुत्साहित गर्न सक्ने चिन्ता संस्थाले व्यक्त गरेको छ।
संस्थाले कुनै पनि पक्षविरुद्ध तथ्यगत वा कानुनी दाबी भए त्यसको उचित निरूपण अदालत वा कानुनी प्रक्रियाबाटै हुनुपर्ने र सामाजिक सञ्जाल वा सञ्चारमाध्यमबाट अपुष्ट आरोपलाई स्थापित तथ्यका रूपमा प्रचार गर्नु उपयुक्त नहुने धारणा राखेको छ।
यसै सन्दर्भमा फाउन्डेशनले सम्बन्धित निकायसमक्ष पाँच बुँदे माग प्रस्तुत गरेको छ, जसमा चराचर खबरका समाचार पत्रकार आचारसंहिताअनुरूप थिए वा थिएनन् भन्नेबारे निष्पक्ष परीक्षण, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक सामग्रीमाथि छानबिन, अदालती आदेश कार्यान्वयनको प्रभावकारी वातावरण, महिला हिंसापीडित तथा नाबालकको सुरक्षा र गोपनीयताको संरक्षण, र न्यायाधीन विषयमा समाचार सम्प्रेषण गर्दा सन्तुलित पत्रकारिता अभ्यास गर्नू भन्ने माग समावेश छन्।
फाउन्डेशनले आफ्नो उद्देश्य कुनै व्यक्ति वा सञ्चारमाध्यमसँग द्वन्द्व सिर्जना गर्नु नभई सत्य, न्याय, महिला र बाल अधिकार तथा विधिको शासनको संरक्षण रहेको स्पष्ट पार्दै सबै पक्षलाई तथ्यमा आधारित संवाद र न्यायिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ। विज्ञप्तिमा फाउन्डेशनकी उपाध्यक्ष शारदा कुमारी मानन्धरको दस्तखत रहेको छ।