वीरगञ्ज । नेपालमा १८औँ गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै गणतन्त्रको स्थापना र यसको महत्वमाथि प्रकाश पारेका छन् । उनले गणतन्त्रलाई नेपाली जनताको लामो सङ्घर्ष, हजारौँको बलिदान र अथक मेहनतको प्रतिफलका रूपमा स्मरण गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा गणतन्त्रलाई कुनै उपहार नभई नेपाली जनताले आफ्नो सङ्घर्ष र बलिदानबाट आर्जन गरेको उपलब्धि भएको बताए । उनले भने, “गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, आर्जन गरेका हौँ – हजारौँ जनताको बलिदान र त्यागबाट। मुकुटको हुकुमी आदेशबाट सञ्चालित राज्य प्रणालीलाई भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ ।” उनले गणतन्त्र स्थापना भएको दिनको स्मरण गर्दै यो गौरवपूर्ण उपलब्धिलाई कहिल्यै बिर्सन नहुनेमा जोड दिए ।
प्रधानमन्त्रीले विगतको निरङ्कुश राजतन्त्र कालको कठोर अवस्थालाई सम्झँदै त्यसबेला सञ्चारमाध्यम र विचार अभिव्यक्तिमा लगाइएको प्रतिबन्धको कुरा उल्लेख गरे । “आजको पुस्ताले सामाजिक सञ्जालमा निर्बाध रूपमा आफ्ना मत व्यक्त गरिरहेको छ, तर त्यसबेला सञ्चारमाध्यममा प्रतिबन्ध र टेलिफोन लाइनहरू बन्द थिए,” उनले भने । गणतन्त्रले जनतालाई आफ्नो मत व्यक्त गर्ने र राज्य सञ्चालनका घटनाहरूलाई मूल्याङ्कन गर्ने स्वतन्त्रता प्रदान गरेको उनको भनाइ थियो ।
ओलीले गणतन्त्रले हुकुमी शासनको अन्त्य गरी जनताले आफ्ना प्रतिनिधि छान्ने प्रणाली स्थापित गरेको बताए । “हुकुमी निगाहले तोकिने जिल्ला, गाउँ र नगरका प्रमुखहरूको ठाउँमा आज जनताले मतदानबाट वडा सदस्यदेखि राष्ट्रपतिसम्म ३६,०५७ प्रतिनिधि समावेशी रूपमा चयन गर्छन्,” उनले भने । गणतन्त्रले सार्वजनिक निगरानी र सूचना प्रणालीमार्फत पारदर्शिता र जबाफदेहिता सुनिश्चित गरेको उनको दाबी थियो ।
प्रधानमन्त्रीले गणतन्त्रविरुद्ध भइरहेका प्रयासहरूप्रति सचेत रहन आग्रह गरे । उनले भने, “निरङ्कुशतावादीहरूले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेका छन् ।” उनले जनताको निर्णय अधिकारलाई पुनः कुनै अभिजात वंशमा केन्द्रित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता प्रयासलाई स्वतन्त्रताको अभ्यासमा हुर्किएको समाजले स्वीकार नगर्ने ठोकुवा गरे ।
ओलीले गणतन्त्रकालमा भएका विकासका सूचकाङ्कहरूलाई तुलनात्मक अध्ययन गर्न युवा पुस्तालाई आग्रह गरे । “हिजोको गरिबी, असमानता, अविकास र पछौटेपनबाट हामी निकै अगाडि बढेका छौँ । राजतन्त्र र गणतन्त्रकालका विकास सूचकाङ्कहरू तुलना गर्नुस्,” उनले भने । उनले गणतन्त्रले शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारीमा उल्लेख्य परिवर्तन ल्याएको दाबी गरे । साथै, उनले निरङ्कुश राजतन्त्रको २५० वर्षको तुलनामा गणतन्त्रको १७ वर्षमा विद्यालय, अस्पताल, सञ्चार र यातायात पूर्वाधारमा कयौँ गुणा प्रगति भएको बताए ।
प्रधानमन्त्रीले गरिबी, बेरोजगारी र भ्रष्टाचारजस्ता चुनौतीहरूलाई गणतन्त्रको लोकतान्त्रिक प्रणालीमार्फत समाधान गर्न सकिने बताए । “यी चुनौतीहरू कुनै मुकुटधारी अधिनायक खोजेर होइन, इमानदार राजनीतिक शक्ति छनोट गरेर मात्र समाधान हुन्छ,” उनले भने । उनले गणतन्त्रले राज्य यन्त्रलाई शासनबाट सेवातर्फ प्रवेश गराएको र प्रक्रिया अझै पूर्ण हुन बाँकी रहेको उल्लेख गरे ।
ओलीले गणतन्त्रलाई कुनै दलको स्वामित्व नभई जनताको व्यवस्था भएको बताए । “गणतन्त्रमा कमजोरी भयो भने त्यो गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हो । निर्णयमा हुने कमजोरीलाई निर्णयबाटै सच्याउने सुविधा गणतन्त्रमा छ,” उनले भने । उनले जनताले सरकारको आलोचना गर्न, सरकार बदल्न र आफ्नो अधिकारको वकालत गर्न पाउने स्वतन्त्रता गणतन्त्रको शक्ति भएको उल्लेख गरे ।
प्रधानमन्त्रीले गणतन्त्र स्थापनामा योगदान गर्ने अग्रजहरू, राजनीतिकर्मी, न्यायकर्मी, राष्ट्रसेवक, नागरिक समाज र सञ्चारकर्मीप्रति आभार व्यक्त गरे । उनले जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते र अपाङ्ग भएकाहरूप्रति सम्मान व्यक्त गरे ।
ओलीले सुशासन, पारदर्शिता र जबाफदेहितालाई गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड भएको बताउँदै सरकार “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले गणतन्त्रलाई नारामा मात्र नभई व्यवहारमा संस्थागत गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्णपाठ :