×

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका नाति हृदयेन्द्र (वायाँ) । फोटो : वर्षा शाह ।

वीरगञ्ज । राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाह वा उनका नाति हृदयेन्द्र शाहलाई राजा बनाउनुपर्ने आवाज उठाइरहँदा विश्व हिन्दु महासङ्घ नेपाल राष्ट्रिय समितिले भने यस्ता पात्रहरूमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको बताएको छ ।

महासङ्घले जनचाहनाअनुसार स्वच्छ, निष्पक्ष र लोकप्रिय व्यक्तिलाई राजा बनाउन सकिने धारणा व्यक्त गरेको छ ।

भोली जेठ १५ गते काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित आयोजना गर्न लागेको प्रदर्शनको सन्दर्भमा विश्व हिन्दु महासङ्घ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस्तो धारणा राखेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “हिन्दु राष्ट्रमा राजाको भूमिका निषेधित हुँदैन, तर जनचाहनाअनुसार राजामा हुनुपर्ने गुण र गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय व्यक्ति मात्र राजा बन्न सक्छ। हाल चर्चामा रहेका पात्रहरूमा यस्ता गुणहरू देखिँदैनन् ।”

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मङ्गलवार काठमाडौँमा सम्पादकहरूसँगको छलफलमा राष्ट्रिय सहमति भएमा हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका थिए । “यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भएको ठानिन्छ भने विकल्पमा जानुपर्छ,” शाहीकालमा मन्त्रीसमेत रहेका थापाले भने, “राष्ट्रिय सहमति बन्छ भने २०/२१ वर्षका हृदयेन्द्र शाहलाई राजा बनाऔँ ।” हृदयेन्द्र पूर्वराजा ज्ञानेन्द्रका नाति तथा पारस शाहका छोरा हुन् ।

विश्व हिन्दु महासङ्घका अध्यक्ष डा. अधिकारीले राजसंस्था र हिन्दु धर्मलाई एकै ठाउँमा जोड्न नहुने स्पष्ट पारेका छन् । उनले भने, “राजा र धर्म फरक विषय हुन् । राजा एक राजनीतिक विषय हो, जुन समयअनुसार स्थापित वा विस्थापित हुन सक्छ । तर धर्म जनताको आस्था र श्रद्धासँग जोडिएको निरन्तर चलिरहने विषय हो । हामी न त घोर दक्षिणपन्थी, न त उग्रवामपन्थी धारमा विश्वास गर्छौँ । मध्यमार्गी लोकतान्त्रिक बाटो नै हाम्रो मूल लक्ष्य हो, जसमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्र स्थापना हाम्रो उद्देश्य हो ।”

डा. अधिकारीले राजावादीहरूको आन्दोलनमा स्वेच्छाले सहभागी हुनेहरूलाई कुनै रोकटोक नहुने तर त्यसबाट उत्पन्न हुने जोखिमको जिम्मेवारी सहभागीहरूले नै लिनुपर्ने बताएका छन् । उनले भने, “स्वेच्छाले आन्दोलनमा सहभागी हुन चाहनेलाई व्यक्तिगत स्वतन्त्रताको हनन नहुने गरी हामी रोक लगाउँदैनौँ । तर आन्दोलनमा जाँदा उत्पन्न हुने जोखिमको जिम्मेवारी सहभागीहरू स्वयंले लिनुपर्छ ।”

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ ६ गते एक सार्वजनिक कार्यक्रममा जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने दृढता व्यक्त गरेका थिए । उनीहरूको अभियानले मुलुकमा नयाँ बहस सिर्जना गरेको छ ।

विश्व हिन्दु महासङ्घको फरक धारणाले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई थप जटिल बनाएको छ । एकातर्फ राजावादीहरूले पुरानो शाही वंशलाई पुनर्स्थापना गर्ने एजेन्डा अघि सारेका छन् भने अर्कोतर्फ महासङ्घले गुण र गरिमामा आधारित नेतृत्वको वकालत गरेको छ ।

Back to top