धनगढी एफसी नेपाल सुपर लिगको तेस्रो संस्करणको प्ले अफमा पुग्ने दोस्रो टोली बनेको छ।
सोमबार भएको खेलमा झापा एफसीलाई १–० ले हराउँदै धनगढीले शीर्ष चारमा स्थान पक्का गरेको हो। एक खेल बाँकी रहँदै ललितपुर एफसीले प्ले अफमा स्थान बनाएको छ। हारसँगै प्ले अफमा पुग्ने झापाको गणितीय सम्भावना मात्रै बाँकी छ।
खेलको पहिलो आधा घण्टा सुस्त बनेपछि दुवै टिमले एक–एक अवसर मात्रै निकाल्न सके। दोस्रो हाफमा पनि खेल खास रोमाञ्चक देखिएन्। दुवै टिमले बिरलै मात्र अवसर निकालेका थिए। खेलको ६०औं मिनेटमा धनगढी डेडलक तोड्न सफल भयो। धनगढीका ब्राजिली खेलाडी सर्जियो बारबोजारको क्रसमा हिजाजीले गोल गरे। ६ यार्ड बक्सभित्र रहेका उनले गोलकिपर र डिफेन्डर दिपेश धिमाललाई छक्काएर गोल गरेका हुन्।
यसअघिका चार खेल बराबरी खेलेको झापाले लिगमा पहिलो हारको सामना गरेको छ।
सोमबार नै भएको अर्को खेलमा काठमाडौँ रेजर्सले १० खेलाडीमा सीमित चितवन एफसीलाई २–० ले हराएर प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ। लिग चरणमा आफ्नो अन्तिम खेलमा जित निकालेको काठमाडौँले आठ अङ्क बनाएको छ। अब काठमाडौँ को प्लेअफमा पुग्ने भाग्य अन्य टिमको नतिजामा निर्भर हुनेछ।
चितवन सात अङ्कमा छ। चितवनको अगाडि बढ्ने छिनोफानो धनगढी एफसीसँगको खेलले हुने छ। खेलको ३२ औँ मिनेटमा बाकारी मानेले करिब ३० गजबट फ्रिकिकमा गोल गरी काठमाडौँलाई अग्रता दिलाए।
खेलको ५६ औँ मिनेटमा युसुफ मलिकले रातो कार्ड पाएपछि एक गोलले पछाडि परेको चितवनलाई खेलमा फर्किन सकेन। काठमाडौँले यसको फााइदा उठाउँदै खेलको ७२ औँ मिनेटमा अग्रता दोब्बर पा¥यो। डियोपले रिबाउन्डमा गोलपोस्ट नजिकबाट गोल गरे पछि काठमाडौँको तीन अङ्क पक्का भयो।
प्रतियोगितामा आज पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीचको खेल साँझ ६ बजे हुनेछ।