×

वीरगञ्ज । वीरगञ्जमा शनिवार हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको झडपले उत्पन्न तनाव समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बिहान सर्वदलीय बैठक बसेको छ ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको संयोजकत्वमा बिहान ७ बजे सुरु भएको बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले सामाजिक सद्भाव, घाइतेको उपचार र दोषीमाथि कारबाहीको मागलाई समेट्दै संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र र सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिताललगायत सुरक्षा समितिका पदाधिकारीहरू उपस्थित थिए ।

आइतबार बिहानको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव र सहिष्णुता कायम राख्ने दृढ प्रतिबद्धता जनाएका छन् । उनीहरूले विविधताबिच एकता र सांस्कृतिक ऐक्यबद्धताको संरक्षण गर्दै समतामूलक समाज निर्माणमा जोड दिएका छन् । बैठकले शान्ति र अमनचैनमा खलल पुग्ने धार्मिक वा सामुदायिक र्‍याली, बन्दजस्ता गतिविधि कुनै पनि समुदाय वा संस्थाले नगर्ने सहमति जनाएको छ । साथै, सबै समुदायलाई सामाजिक सद्भाव कायम राख्न जोडदार अपिल गरिएको छ । 

बैठकले झडपमा घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधारणको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार राज्यले निःशुल्क व्यवस्था गर्नुपर्ने माग राखेको छ । घाइतेहरू हाल नारायणी अस्पताल, गण्डक अस्पताललगायतमा उपचाररत छन् । त्यस्तै, शोभा यात्राको क्रममा विवाद भड्काउने र हिंसा मच्चाउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएको छ । बैठकले घटनाको निष्पक्ष छानबिनको आवश्यकता औँल्याएको छ । 

सिडिओ अर्यालले बैठकपछि सबै पक्षलाई संयमित रहन र सामाजिक एकता कायम राख्न आग्रह गरे । उनले भने, “हामीले स्थिति नियन्त्रणमा लिइसकेका छौँ। अब कसैले पनि उत्तेजक गतिविधि नगर्न अनुरोध छ । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुन्छ ।” बैठकले कर्फ्यु आदेश हटाउने वा निरन्तरता दिने विषयमा पनि छलफल गरेको बुझिएको छ । 

शनिवार छपकैया क्षेत्रमा शोभा यात्राका क्रममा दुई समुदायबिच भएको हिंसात्मक झडपले सहरमा तनाव फैलिएको थियो । “जय श्रीराम” लेखिएको झन्डा खोस्ने प्रयास र इदगाह चोकमा ढुंगामुढा प्रहारबाट सुरु भएको विवादले उग्र रूप लिँदा कम्तीमा ४० जना घाइते भएका थिए । घाइतेमध्ये २५ जना सुरक्षाकर्मी र १५ जना सर्वसाधारण छन् ।

झडपमा दुई बिरयानी पसल, तीन मासु पसल, एक औषधि पसल र केही निजी घरमा तोडफोड भएको थियो भने आठ मोटरसाइकलमा आगजनी हुँदा लाखौँको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १३० राउन्ड अश्रुग्याँस र दुई राउन्ड हवाई फायर प्रहार गरेको थियो । इनर्वा क्षेत्रमा प्रहरीको गोली लागेर स्थानीय हरेन्द्र राउत अहिर घाइते भएका थिए ।

प्रशासनले शनिवार साँझ साढे ७ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । कर्फ्युका कारण रक्सौल नाकामा यात्रुहरू अलपत्र परेका छन् । प्रशासनले उनीहरूलाई सिर्सिया, बलिरामपुर र गण्डक नहरको वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ । अत्यावश्यक सेवा र परीक्षार्थीलाई भने आवागमनमा सहजता प्रदान गरिएको छ । 

आइतबार बिहान वीरगञ्जको अवस्था सामान्य बन्दै गए पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित झडप रोक्न संयुक्त गस्ती गरिरहेका छन् । सामाजिक सञ्जालमा घटनाले व्यापक चर्चा पाएको छ । कतिपयले शान्तिपूर्ण शोभा यात्रामाथि सुनियोजित आक्रमण भएको दाबी गरेका छन् भने कतिपयले साम्प्रदायिक तनाव भड्काउने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन् । 

सर्वदलीय बैठकको प्रतिबद्धताले वीरगञ्जमा शान्ति र सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रशासनले सबै समुदायलाई शान्तिपूर्ण सहअस्तित्वको भावना आत्मसात् गर्न र हिंसात्मक गतिविधिबाट टाढा रहन अपिल गरेको छ ।

हाल सुरक्षा समितिले हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरूसँग छलफल गरिरहेको छ ।

Back to top