×

वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणनामा सभापति पदका उम्मेदवार राजकुमार यादवसहितको प्यानल विजयी भएको छ ।

लामो समयको विवाद र तनावबिच बुधवारदेखि पुनः सुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार, ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा राजकुमार यादवसहितको प्यानल विजयी भएको हो ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्गठन (नेविसंघ) बाट रुष्ट भएर स्वतन्त्र नेपाल विद्यार्थी समूह बनाएर निर्वाचनमा उत्रिएका राजकुमारले नेविसंघ कै सभापति उम्मेदवार विकास मण्डल धानुकलाई ४६२ मतको अन्तरले पराजित गरेका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार राजकुमारले १११५ मत पाउँदा विकासले केवल ६५३ मत पाएको ठाकुररामको स्ववियु निर्वाचन अधिकृत दिलीप कुमार सिंहले जानकारी दिए । त्यस्तै ५६२ मतका साथ जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादव तेस्रो, ४५० मतका साथ सुधीर पटेल समूहबाट सभापति पदका उम्मेदवार कमलेश कुमार यादव चौथो र ३८६ मतका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पवन यादव पाँचौं भएको सिंहले जानकारी दिए । ठाकुरराम बहुमुखी क्याम्पसमा रहेका कुल १०,७२९ मतदातामध्ये ४,२९९ जनाले मतदान गरेको उनले बताए ।

नेविसंघबाट बागी बनेर उम्मेदवारी दिएका राजकुमारको जितले सङ्गठनभित्रको आन्तरिक विद्रोह र विद्यार्थीहरूको रुझानलाई स्पष्ट गरेको छ । नेविसंघको औपचारिक समर्थन पाएका विकासले राजकुमारको लोकप्रियतासँग प्रतिस्पर्धा गर्न नसकेको मतपरिणामले देखाएको छ ।

निर्वाचन प्रक्रियामा मतपेटिका साटिएको, फर्जी भर्नाको आरोप र सङ्गठनहरूबिचको मतभेदले मतगणनालाई जटिल बनाएको थियो । विद्यार्थीहरूले क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवको पुत्ला जलाउनुका साथै वीरगञ्जमा वृहत् र्‍याली निकालेर विरोध जनाएका थिए । यद्यपि, मतगणना सुचारु भएसँगै १६ वर्षदेखिको स्ववियु नेतृत्वको रिक्तता समाप्त भएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ यता स्ववियु नेतृत्व चयन हुन सकेको थिएन । यस पटकको निर्वाचन र राजकुमार यादवको विजयले विद्यार्थीहरूको लामो प्रतीक्षाको अन्त्य गरेको छ । राजकुमारको नेतृत्वमा अब क्याम्पसको स्ववियुले विद्यार्थीहरूका मुद्दा र समस्यालाई कसरी सम्बोधन गर्छ भन्ने कुरा आगामी दिनमा हेर्न बाँकी छ ।

सिडिओ अर्यालको महत्त्वपूर्ण भूमिका

गत चैत ५ गते मङ्गलवारका दिन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको स्ववियु निर्वाचनको मतगणना बुधवार साँझदेखि सुरु भए पनि बिहीबार मतपेटिकाको नम्बर र उम्मेदवारका प्रतिनिधिसँग भएको मुचुल्का नम्बर नमिल्दा विवाद उत्पन्न भएको थियो । विद्यार्थीहरूले क्याम्पस प्रशासनमाथि मतपेटिका साटेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेपछि मतगणना नै स्थगित भयो ।

स्थगित रहेको मतगणनालाई पुनः सुचारु गर्न विभिन्न पक्षले प्रयास गरे पनि विरोधमा उत्रिएका १० वटा विद्यार्थी सङ्गठन र समूहहरूले पुन:निर्वाचन गर्नुका साथै नक्कली प्रमाणपत्र र फर्जी कागजातको आधारमा भएको भर्नाको निष्पक्ष छानबिन गर्नुका साथै सम्बन्धित दोषीहरूमाथि कारबाही गर्न माग अघि सारेका थिए । क्याम्पस प्रशासनले पनि मतगणना सुचारु गर्न कुनै पहल देखाएको थिएन ।

यद्यपि, पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले विद्यार्थी, राजनीतिक दल र क्याम्पस प्रशासनसँग गरेको पटक – पटकको छलफल पश्चात् हिजोदेखि मतगणना पुनः सुरु भएको थियो ।

सिडिओ अर्यालले असन्तुष्ट विद्यार्थीहरूको माग सम्बोधन गर्न नक्कली प्रमाणपत्र र कागजातहरूको आधारमा भएको कथित फर्जी भर्नाको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन् । समितिको संयोजकत्व सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) सुमन कुमार कार्कीले गर्नेछन् भने सदस्यहरूमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल र विद्यार्थी सङ्गठनबाट तीन प्रतिनिधि रहनेछन् । समितिले फर्जी भर्नाको छानबिन गर्दै दोषी देखिएकाहरूमाथि कारबाहीको सिफारिस सहित प्रतिवेदन बुझाउने छ । 

सिडिओ अर्यालले १६ वर्षदेखि हुन नसकेको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन जसरी पनि गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यसका लागि निर्वाचन पूर्व नै विद्यार्थी, क्याम्पस प्रशासन र राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने योजना बनाएका थिए । योजना स्वरूप उनले कडा सुरक्षा व्यवस्थाका बिच निर्वाचन सम्पन्न गराएर पनि देखाए ।

स्थानीयहरूले पनि सिडिओ अर्यालको प्रशंसा गरेका छन् । ठाकुरराममा स्ववियु निर्वाचन गराउन असम्भव भएको बताउनेहरूले पनि सिडिओ अर्यालको प्रयासलाई सराहना गर्दै उनको नेतृत्व र कार्य सम्पादन क्षमता प्रति आभार प्रकट गरेका छन् ।

क्याम्पस प्रशासनमाथि प्रश्न

क्याम्पस प्रमुख रञ्जित प्रसाद यादव सुरुदेखि नै निर्वाचनको विपक्षमा देखिएका थिए । नक्कली प्रमाणपत्रमार्फत फर्जी भर्ना भएको र भ्रष्टाचारको पर्दाफास हुने डरले उनी निर्वाचनप्रति अनिच्छुक रहेको आरोप लागेको छ । निर्वाचन प्रक्रियामा पत्रकारलाई टाढा राख्ने र सूचना लुकाउने जस्ता गतिविधिले क्याम्पस प्रशासनको भूमिकामाथि शङ्का उब्जिएको छ ।

Back to top