×

वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पस १६ वर्षपछि सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना बुधवार दिउँसोदेखि पुनः सुरु भएको छ ।

मङ्गलवार जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला सुरक्षा समिति र विद्यार्थी सङ्गठनहरूबिच भएको सहमतिपछि मतगणना सुचारु गरिएको हो । यद्यपि, मतगणना पुनः सुरु भए पनि केही सङ्गठनले असहमति जनाउँदै विरोध जारी राखेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले मतगणना सुचारु गर्न विद्यार्थी सङ्गठनहरूसँग सहमति भएको दाबी गरेका छन् । 

“बुधवार बिहान क्याम्पस प्रमुख, प्रमुख राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, बार एसोसिएसन, मानवअधिकार सङ्गठन र विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूसँग बैठक बसेर दिउँसोदेखि मतगणना सुरु गरिएको छ,” उनले भने ।

मतगणना स्थलमा सिडिओ अर्यालसहित पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणपति प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायत सुरक्षाकर्मी र प्रशासकीय अधिकारीहरूको बाक्लो उपस्थिति रहेको छ ।

स्ववियु निर्वाचन समितिका संयोजक तथा निर्वाचन अधिकृत दिलीप सिंहले मतगणना बिहीबार दिउँसोसम्म सम्पन्न गरी विजेता घोषणा गर्ने योजना रहेको बताए । “मतगणना रोकिँदा क्याम्पसको पठनपाठन प्रभावित भएको थियो । विद्यार्थीहरूले दिएको मतको कदर गर्न र लामो समयदेखिको नेतृत्व रिक्तताको अन्त्य गर्न मतगणना पुनः सुरु गरिएको हो,” उनले भने ।

मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले क्याम्पसमा नक्कली प्रमाणपत्र र कागजातका आधारमा भएको कथित फर्जी भर्नाको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि विद्यार्थीहरू पुनः मतगणना गर्न सहमत भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) सुमन कुमार कार्कीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल र तीन विद्यार्थी सङ्गठनका प्रतिनिधि सदस्य छन् ।

समितिलाई फर्जी भर्नाको विस्तृत अनुसन्धान गरी दोषीमाथि कारबाहीको सिफारिससहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । “फर्जी भर्नाको गम्भीर आरोपमाथि निष्पक्ष छानबिन हुनेछ र दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ,” सिडिओ अर्यालले भने ।

मतगणना पुनः सुरु भए पनि सबै पक्षको सहमति भने जुट्न सकेको छैन । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका स्ववियु सभापति उम्मेदवार हरि किशोर यादवले फर्जी भर्नाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दायर गरेको बताए । ”हामीले अदालतको निर्णय नआएसम्म मतगणना हुनुहुँदैन भन्ने अडान राखेका छौँ,” उनले भने । समाजवादी विद्यार्थी युनियन नेपालका उम्मेदवार मोहम्मद सागिर अलिले पनि अदालतको फैसला कुर्नुपर्ने माग दोहोर्‍याए ।

यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लगायतका सङ्गठन र केही स्वतन्त्र समूहले कुनै सहमति नभएको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरूले निर्वाचन खारेज गरी १५ दिनभित्र स्वच्छ र निष्पक्ष निर्वाचन गर्नुपर्ने माग राखेका छन् । साथै, उच्च अदालतको निर्वाचन प्रक्रिया रोक्न गरेको आदेशको क्याम्पस प्रशासन र स्थानीय प्रशासनले अवज्ञा गरेको आरोप पनि लगाएका छन् ।

गत मङ्गलवार १६ वर्षपछि सम्पन्न भएको स्ववियु निर्वाचनको मतगणना बुधवार साँझदेखि सुरु भएको थियो । तर, दोस्रो दिन बिहीबार मतपेटिकाको नम्बर र उम्मेदवारका प्रतिनिधिसँग भएको मुचुल्का नम्बर नमिल्दा विवाद चर्किएको थियो । विद्यार्थीहरूले क्याम्पस प्रशासनले एउटा विशेष समूहलाई जिताउन मतपेटिका साटेको आरोप लगाएर विरोधमा उत्रिएपछि मतगणना स्थगित भएको थियो । विवाद बढ्दै जाँदा विद्यार्थीहरूले क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवको पुत्ला जलाएका थिए भने भोलिपल्ट वीरगञ्जमा वृहत् र्‍याली निकालेका थिए । अर्कोतर्फ नेविसंघलगायतका सङ्गठनले क्याम्पस प्रशासन र स्थानीय प्रशासनको लापरबाहीका कारण मतगणना रोकिएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

मतगणना रोकिनुअघिको तथ्याङ्कअनुसार नेपाल विद्यार्थी समूहका स्ववियु सभापति उम्मेदवार राजकुमार यादव ४२० मतसहित अग्रस्थानमा थिए । नेविसंघका आधिकारिक उम्मेदवार विकास मण्डल धानुक २६१ मतसहित दोस्रो, समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादव २२१ मतसहित तेस्रो, सुधीर पटेल समूहका कमलेश कुमार यादव २०४ मतसहित चौथो र अनेरास्ववियुका पवन यादव १५० मतसहित पाँचौँ स्थानमा थिए । सभापति पदमा १४ जनासहित २१ पदका लागि २४७ उम्मेदवार प्रतिस्पर्धामा छन्।

ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ यता स्ववियु नेतृत्व रिक्त छ । यस पटकको निर्वाचनले १६ वर्षपछि विद्यार्थी नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ । मतगणना सुचारु भएसँगै लामो समयदेखिको प्रतीक्षा समाप्त हुने आशा गरिएको छ, तर अदालती विवाद र सङ्गठनहरूबिचको असहमतिका कारण परिणामप्रति शङ्का र तनाव कायमै छ ।

ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मतगणना पुनः सुरु भए पनि फर्जी भर्नाको आरोप, अदालती रिट र सङ्गठनहरूबिचको मतभेदले प्रक्रियालाई जटिल बनाएको छ । छानबिन समितिको प्रतिवेदन र अदालतको फैसलाले यो विवादको समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । अहिलेलाई मतगणना जारी रहे पनि सबै पक्षको सहमतिबिना घोषित परिणामले थप विवाद निम्त्याउन सक्ने सम्भावना प्रबल छ ।

Back to top