वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणनाका क्रममा उत्पन्न विवादले क्याम्पसको नियमित पठनपाठन प्रभावित भएको छ ।
घटनाप्रति नेपाली विद्यार्थी संघ (नेविसंघ) ले गम्भीर चिन्ता व्यक्त गर्दै क्याम्पस प्रशासनलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ । नेविसंघले विवादको समाधान नभए आन्दोलनको चेतावनीसमेत दिएको छ ।
वीरगञ्ज नर्सिङ क्याम्पसमा मङ्गलवार सम्पन्न स्वावियु निर्वाचनको मतगणनाका क्रममा विवाद उत्पन्न भएको थियो । मतगणनामा देखिएको असहमति र त्यसपछि उत्पन्न तनावका कारण क्याम्पसको शैक्षिक वातावरणमा नकारात्मक असर परेको छ ।
नेविसंघले एउटा प्रेस विज्ञप्ति जारी गर्दै विवादले क्याम्पसमा नियमित कक्षा सञ्चालनमा अवरोध उत्पन्न भएको जनाएको छ । नियमित कक्षा सञ्चालन नहुँदा विद्यार्थीहरूको भविष्यमा प्रत्यक्ष प्रभाव पारिरहेको नेविसंघको धारणा छ ।
नेविसंघकी इकाई अध्यक्ष सविना सुनारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीहरू आफ्नो भविष्य बनाउन क्याम्पस आएका हुन्, तर उनीहरू राजनीतिक विवादको सिकार बन्नुपरेको छ । शैक्षिक संस्थाहरूमा पठनपाठनको निरन्तरतामा कुनै पनि अवरोध अस्वीकार्य छ ।”
विज्ञप्तिमा विवाद समाधानको जिम्मेवारी निर्वाचन समिति र क्याम्पस नेतृत्वको भए पनि यसको असर विद्यार्थीको पढाइमा पर्नु दुःखद भएको उल्लेख छ ।
नेविसंघले क्याम्पस प्रशासनको रवैयाप्रति पनि कडा आपत्ति जनाएको छ । विज्ञप्तिमा प्रशासनले विवादको नाममा पठनपाठन रोक्ने भूमिका खेलेको भन्दै त्यसलाई निन्दनीय भनिएको छ । “विवाद समाधान गर्नुको साटो क्याम्पस प्रशासनले कक्षाहरू बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको छ,” सुनारले विज्ञप्ति मार्फत भनेकी छन् । उनले प्रशासनले तत्काल कक्षाहरू सुचारु गर्नुपर्ने र विवाद समाधानका लागि संवादको वातावरण बनाउनुपर्ने माग गरेकी छन् ।
नेविसंघले स्ववियु निर्वाचनसम्बन्धी विवादलाई सहमति, वार्ता र संवादमार्फत यथाशीघ्र समाधान गर्नुपर्ने माग गरेको छ गर्दै विद्यार्थीहरूलाई अन्योलको स्थितिबाट मुक्त गराउन पनि माग अघि सारेको छ । साथै, विद्यार्थीको पढाइमा बाधा पुर्याउने कुनै पनि गतिविधि तत्काल रोकेर क्याम्पस प्रशासनले कक्षाहरू सुचारु गर्ने वातावरण बनाउनुपर्ने नेविसंघको माग छ ।
नेविसंघले विद्यार्थीको शैक्षिक अधिकारको रक्षा गर्न सबै पक्षलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै प्रशासनले यस्ता समस्या भविष्यमा दोहोरिन नदिने गरी ठोस कदम चाल्नुपर्ने माग गरेको छ । “हामी क्याम्पस प्रशासनलाई तत्काल कदम चाल्न आग्रह गर्छौँ । यदि तोकिएको समय सीमाभित्र उचित पहल भएन भने हामी विद्यार्थीको अधिकार सुनिश्चित गर्न आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्य हुने छौँ,” विज्ञप्तिमा उल्लेख छ । नेविसंघले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराउँदै तुरुन्तै समस्या समाधानमा लाग्न पुनः अनुरोध गरेको छ ।
विवादले वीरगञ्ज नर्सिङ क्याम्पसमा अध्ययनरत सयौं विद्यार्थीको शैक्षिक भविष्यमाथि प्रश्न चिह्न खडा गरेको छ । नर्सिङ जस्तो संवेदनशील र व्यावसायिक क्षेत्रको पढाइमा भएको अवरोधले विद्यार्थीको करिअरमा दीर्घकालीन असर पर्न सक्ने भन्दै अभिभावक र सरोकारवालाहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।
मङ्गलवार सम्पन्न स्ववियु निर्वाचन पश्चात् मतगणनाका क्रममा क्याम्पस प्रशासनले धाँधली गरेको भन्दै उम्मेदवार र प्रतिनिधिहरूले विरोध गरेपछि मतगणना स्थगित भएको थियो । निर्वाचन अधिकृत र क्याम्पस प्रमुखले एउटा विशेष सङ्गठनलाई जिताउन बदर मतहरूलाई समेत सदर गरेको भन्दै विरोधमा उत्रिएका विद्यार्थी र समर्थकहरूले क्याम्पस प्रशासन अगाडि सोही राती टायर बालेर प्रदर्शन समेत गरेका थिए ।
विवादले उग्र रूप लिएपछि स्थानीय प्रशासन र प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । त्यसपश्चात् मतगणना गरिएको मतलाई हेर्दा वास्तवमै बदर मतलाई पनि सदर गरिएको भेटिएको थियो । क्याम्पसको मतगणना स्थगित भएको छ । क्याम्पस प्रशासनले भने यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । निर्वाचन अधिकृत अन्जु कुमारी महतोलाई पटक – पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएकी छैनन् ।