वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना विवादका कारण स्थगित भएको छ । मतपेटिकाको सिल नम्बर परिवर्तन भएको भेटिएपछि उम्मेदवार र उनका प्रतिनिधिहरूले विरोध जनाएका छन् । विरोधका कारण मतगणना प्रक्रिया अनिश्चित बनेको छ ।
चैत ५ गते मङ्गलवार सम्पन्न मतदानपछि मतपेटिका सिल गरेर राखिएको थियो । निर्वाचन समितिले मतपेटिका सिल गर्दा उम्मेदवारका प्रतिनिधिहरूलाई सिल नम्बर उपलब्ध गराएको थियो । तर, बिहीबार दिउँसो मतगणना सुरु गर्ने क्रममा सात नम्बर मतपेटिकाको सिल नम्बर प्रतिनिधिहरूसँग भएको नम्बरसँग मेल नखाएको पाइएपछि विवाद चर्किएको हो ।
उम्मेदवार र प्रतिनिधिहरूले सिल नम्बर फरक परेको घटनालाई क्याम्पस प्रशासन र निर्वाचन समितिले सत्ताधारी सङ्गठनलाई जिताउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष हरेन्द्र साहले भने, “मतपेटिकाको सिल नम्बर र मुचुल्कामा उल्लेख भएको नम्बर मेल खाँदैन । हामीले विरोध गर्दा प्रशासनले यो सानो विषय हो भन्दै पन्छिन खोजिरहेको छ ।”
त्यस्तै, विद्यार्थी नेता मनोज साहले क्याम्पस प्रशासनले प्रहरीको मिलेमतोमा मतपेटिका परिवर्तन गरेको दाबी गरे । उनले भने, “क्याम्पस प्रमुख रञ्जित कुमार यादव र निर्वाचन अधिकृत दिलीप सिंह सत्ताधारी दलनिकट सङ्गठनलाई जिताउन लागिपरेका छन् । हामीले मतगणना बहिष्कार गरेर बाहिरिएका छौँ ।”
विद्यार्थी नेता सुधीर पटेलले पनि मतदानको राति नै उम्मेदवार र प्रतिनिधिहरूलाई षड्यन्त्रपूर्वक बाहिर निकालेर मतपेटिका परिवर्तन गरिएको आरोप लगाए । “यो निर्वाचन हामीलाई स्वीकार्य छैन,” उनले क्याम्पस बाहिर सञ्चारकर्मीहरूसँग भने ।
मतगणना स्थलमा अहिले स्ववियु निर्वाचनमा सहभागी सङ्गठनहरू र क्याम्पस प्रशासनबिच तनावको स्थिति छ। प्रहरीले मतगणना स्थलमा सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाएको छ भने विवाद सुरु भएपछि त्यहाँ उपस्थित पत्रकारहरूलाई समेत बाहिर निकालिएको छ ।
‘युथ्स अफ वीरगञ्ज’ का पत्रकार सौरभ साहले प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले आफूसहित अन्य सञ्चारकर्मीहरूसँग दुर्व्यवहार गर्दै जबरजस्ती बाहिर निकालेको बताए । “सञ्चारकर्मीको उपस्थितिमा विवाद हुन सक्ने बहाना बनाउँदै डिएसपी लम्सालले हामीलाई बाहिर निकाले,” उनले यात्रा डेलीलाई बताए । अहिले क्याम्पस प्राङ्गणमा पनि पत्रकारहरूलाई प्रवेश गर्न दिइएको छैन ।
क्याम्पस प्रशासन र निर्वाचन समितिले विवादबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । निर्वाचन अधिकृत दिलीप सिंहलाई पटक-पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।
हालसम्मको मतगणनाअनुसार सभापति पदमा नेपाल विद्यार्थी समूहका उम्मेदवार राजकुमार यादव ४२० मतसहित अग्रस्थानमा छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विकास मण्डल धानुक २६१ मतसहित दोस्रो, समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादव २२१ मतसहित तेस्रो, सुधीर पटेल समूहका कमलेश कुमार यादव २०४ मतसहित चौथो र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पवन यादव १५० मतसहित पाँचौँ स्थानमा छन् । कुल १०,७२९ मतदातामध्ये ४,२९९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
मङ्गलवार शान्तिपूर्ण रूपमा सम्पन्न भएको मतदानपछि राति नै मतगणना सुरु गर्ने योजना थियो । तर, क्याम्पस प्रशासन र निर्वाचन समितिको ढिलाइले बुधवार साँझ ५:४५ बजे मात्र गणना सुरु भएको थियो । व्यवस्थापकीय कमजोरीका कारण बिहान ८ बजे सुरु हुने भनिएको मतदान पनि १० बजे मात्र थालिएको थियो । मतगणना बिहीबार अबेर रातिसम्म सकिने अनुमान गरिए पनि विवादका कारण प्रक्रिया थप लम्बिने देखिएको छ ।
ठाकुरराम क्याम्पसमा २०६५ पछि स्ववियु नेतृत्व रिक्त छ । स्ववियु निर्वाचनले १६ वर्षपछि विद्यार्थी नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ । सभापति पदमा १४ जनासहित कुल २१ पदका लागि २४७ उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।