×

फाइल तस्बिर ।

वीरगञ्ज । वीरगञ्जस्थित नर्सिङ क्याम्पसमा मङ्गलवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना प्रक्रिया विवादमा फसेको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले क्याम्पस प्रशासन र निर्वाचन अधिकृतमाथि गम्भीर आरोप लगाएपछि बुधवार बिहानदेखि मतगणना स्थगित भएको छ ।

विवाद समाधानका लागि बुधवार साझासम्म चलेको बैठकले बिहीबारदेखि पुनः मतगणना सुरु गर्ने निर्णय गरेको छ । यद्यपि समय भने निश्चित भएको छैन ।

मङ्गलवार अपराह्न सम्पन्न निर्वाचनपछि राति ८ बजेदेखि सुरु भएको मतगणना प्रक्रियामा क्याम्पस प्रशासनले बदर मतहरूलाई समेत जबरजस्ती सदर गरेको आरोप नेविसंघ र अखिल (क्रान्तिकारी) ले लगाएका छन् । क्याम्पस प्रमुख डा. कल्पना पौडेल र निर्वाचन अधिकृत अन्जु कुमारी महतोले एउटा विशेष सङ्गठनलाई जिताउन यस्तो हरकत गरेको दाबी गर्दै नेविसंघ र अखिल (क्रान्तिकारी) आक्रोशित बनेका छन् । 

विरोधमा उत्रिएका नेविसंघ निकट विद्यार्थीहरूले राति क्याम्पसको मूल गेट अगाडि टायर बालेर नाराबाजी र प्रदर्शन समेत गरेका थिए । उनीहरूले मतगणनालाई पारदर्शी बनाउन पुनः मतगणनाको माग गरेका छन् भने क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामासमेत मागेका छन् ।

अखिल (क्रान्तिकारी) का नेता मिरोज अहमदले भने, “हामीले मतपत्र जाँच्दा बदर भएका मतहरूलाई जबरजस्ती सदर गरिएको पायौँ । यो क्याम्पस प्रशासनको बदनियतको परिणाम हो । निर्वाचन स्वच्छ र पारदर्शी हुनुपर्छ, तर यहाँ ठाडो धाँधली भएको छ ।”

नेविसंघका जिल्ला अध्यक्ष रमेश यादवले क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई अभ्यास परीक्षामा नम्बर काटिदिने धम्की दिएर विरोधको स्वर दबाउन खोजेको आरोप लगाए । “गलत कामको विरोध गर्न पनि दिइएको छैन । प्रशासनले हाम्रो अधिकार कुण्ठित गरेको छ,” उनले भने ।

नेविसंघबाट वीरगञ्ज नर्सिङ क्याम्पसमा सभापति पदकी उम्मेदवार दियान्सु श्रेष्ठले पनि मतगणना स्थलमा आफ्ना प्रतिनिधिको कुरा नसुनिएको र बदर मतलाई सदर गरेर क्याम्पस प्रमुखले विशेष सङ्गठनलाई जिताउन खोजेको बताइन् ।

यता, नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मतगणनामा कुनै अनियमितता नभएको दाबी गरेको छ । अनेरास्ववियुका नेता आशिफ अहमदले नेविसंघ र अखिल (क्रान्तिकारी) ले हार निश्चित देखेपछि अनावश्यक विवाद खडा गरेको बताए । “मतगणनामा उनीहरू निकै पछाडि परेका छन् । हार स्वीकार गर्न नसकेर नाटक गरेका हुन् । अनेरास्ववियुले यसअघि पनि स्ववियुको नेतृत्व गरेको छ र यो पटक पनि गर्छ,” उनले भने । पुनः मतगणनाको मागलाई अनेरास्ववियुले “अनुचित” भन्दै अस्वीकार गरेको छ ।

विरोध प्रदर्शनले उग्र रूप लिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक गौतम मिश्र क्याम्पस पुगेका थिए । विद्यार्थी नेताहरूसँगको छलफलमा अखिल (क्रान्तिकारी) का नेता आसिफ अहमदले बदर मतहरूलाई सदर गरेको प्रमाण फेला परेको बताए ।

बुधवार दिउँसो क्याम्पस प्रशासन, जिल्ला प्रशासन, पर्सा प्रहरी र निर्वाचनमा सहभागी सङ्गठनका प्रतिनिधिहरूको बैठकले बिहीबारदेखि पुनः मतगणना सुरु गर्ने निर्णय गरेको छ । क्याम्पस प्रशासनले बदर मतलाई सदर गरेको स्वीकार गर्दै नेविसंघ र अखिल (क्रान्तिकारी) को पुनः मतगणनाको माग स्वीकार गरेको हो । मतगणना केन्द्रमा सबै पक्षले आ–आफ्नो ताला लगाएका छन् ।

मङ्गलवार भएको निर्वाचनमा क्याम्पसका २७३ मतदातामध्ये २७२ जनाले मत खसालेका थिए । मतगणना स्थगित हुनुअघिको पछिल्लो परिणामअनुसार स्ववियु सभापति पदमा अनेरास्ववियुकी आर्जु राय ८६ मतसहित अग्रस्थानमा थिइन् । नेविसंघकी दियान्सु श्रेष्ठ ७८ मतसहित दोस्रो र अखिल (क्रान्तिकारी) की कविता आचार्य ५२ मतसहित तेस्रो स्थानमा थिइन् । बाँकी मतहरूको गणना बाँकी रहँदै विवाद चर्किएको हो ।

निर्वाचन अधिकृत अन्जु कुमारी महतोसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएकी छैनन् । क्याम्पस पुगेका सञ्चारकर्मीहरूलाई द्वारपालले प्रवेश गर्न नदिएको र दुर्व्यवहार गरेका छन् । क्याम्पस प्रशासनले विवादको विषयमा औपचारिक धारणा समेत सार्वजनिक गरेको छैन ।

विवादले वीरगञ्ज नर्सिङ क्याम्पसको शैक्षिक वातावरणमा तनाव सिर्जना गरेको छ । नेविसंघ र अखिल (क्रान्तिकारी) ले पुनः मतगणना नभएसम्म विरोध जारी राख्ने अडान लिएका छन् भने जिल्ला प्रशासनको हस्तक्षेप आवश्यक रहेको बताएका छन्। स्थानीय र विभिन्न राजनीतिक सङ्गठनहरूले क्याम्पस प्रशासनमाथि कारबाही र विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । क्याम्पसमा शान्ति कायम राख्न प्रहरी परिचालन गरिएको छ ।

वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनको मतगणना प्रक्रियामा देखिएको धाँधलीको आरोप र त्यसपछिको तनावले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । क्याम्पस प्रशासनको मौनता र सङ्गठनहरूबिचको आरोप–प्रत्यारोपले परिस्थिति जटिल बनेको छ । जिल्ला प्रशासनको मध्यस्थतामा पुनः मतगणनाको निर्णय भए पनि सबै पक्षको सहमतिमा पारदर्शी प्रक्रिया नअपनाइए विवाद थप चर्किन सक्ने देखिन्छ । अहिलेलाई सबैको ध्यान बिहीबार हुने मतगणनामा केन्द्रित भएको छ ।

Back to top