अमेरिका र युक्रेनबीच रुस–युक्रेन युद्ध अन्त्यका विषयमा साउदी अरबको रियादमा आज पहिलो आधिकारिक वार्ता हुँदैछ।
वार्ताका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफ साउदी अरब पुगेका छन्। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की पनि सोमबार नै साउदी अरब पगेका छन्। यद्यपि जेलेन्स्की वार्तामा प्रत्यक्ष सहभागी नहुने बताइएको छ।
युक्रेनका तर्फबाट चिफ अफ स्टाफ एन्ड्रिय येरमार्क, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमेरोभ वार्तामा सहभागी हुने बताइएको छ।
यसैबीच, साउदीको राजकीय भ्रमणमा रहेका जेलेन्स्की र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच भेटवार्ता भएको छ।
जेद्दामा भएको भेटमा युवराज सलमानले युक्रेन संकट समाधान र शान्तिका लागि साउदी अरबको तर्फबाट प्रतिबद्धता जनाए। युक्रेनमा रूसको आक्रमणपछि साउदी अरबले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। गत महिना मस्को र वाशिंगटनका अधिकारीबीचको वार्ता पनि साउदी अरबमै भएको थियो।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आंशिक युद्धविराममा सहमति जुट्नसक्ने बताएका छन्। सम्झौतामा हस्ताक्षर नभए पनि वार्ता सफल हुनसक्ने उनको भनाइ छ। रुबियोले किएभसँगको खनिज सम्झौतामा अझै केही काम गर्न बाँकी रहेकोसमेत बताए।
अमेरिका, राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को दबाबका कारण छिटो युद्ध अन्त्य गर्न युक्रेन प्रतिबद्ध भएको देखाउन चाहन्छ।
यद्यपि किएभले भने अमेरिकाबाट सुरक्षा ग्यारेन्टी खोजिरहेको छ। जसमा अमेरिका सहमत छैन।
युक्रेनले आजको वार्तामा रूससँग हवाई र समुद्री युद्धविराम प्रस्ताव गर्न सक्नेछ मस्कोले भने आंशिक युद्धविरामलाई पहिले नै अस्वीकार गरिसकेको छ।
ट्रम्प र जेलेन्स्कीबीच गत फेब्रुअरी २८ मा ओभल अफिसमा भएको तिक्ततापूर्ण सम्वादपछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्का गर्नुका साथै गुप्तचरी सूचना आदान–प्रदान समेत रोकेर सम्झौताका लागि दबाब सिर्जना गरेको छ।