×

वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक शैक्षिक संस्था ठाकुरराम बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी राजनीतिमा उत्साह र सरगर्मी बढेको छ । 

निर्वाचनमा स्ववियु अध्यक्षको उम्मेदवारीका लागि विद्यार्थी नेता कमलेश कुमार यादवको नाम चर्चामा आएको छ । नेपाली काँग्रेसका पूर्व युवा नेता तथा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार समेत रहेका सुधीर पटेलको समर्थनमा यादवले आफूलाई अध्यक्ष पदको लागि उम्मेदवारका रूपमा अघि सारेका हुन् ।

पटेलले पनि यादवलाई आफ्नो समर्थन रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै पटेलले यादवलाई “स्वच्छ छवि, सक्षम र विद्यार्थीहरूको हकहितका लागि दिनरात लड्ने” नेताको रूपमा चित्रण गरेका छन् । उनले सम्पूर्ण विद्यार्थीहरू र सम्बन्धित सबै पक्षलाई यादवलाई अत्यधिक मतले विजयी गराउन अनुरोध गरेका छन् । पटेलको पोस्टले ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचनमा नयाँ तरङ्ग ल्याएको छ र विद्यार्थीहरूबिच व्यापक चर्चाको विषय बनेको छ ।

सुधीर पटेलको समर्थनको राजनीतिक अर्थ

नेपाली काँग्रेसका पूर्व नेता सुधीर पटेल हाल स्वतन्त्र राजनीतिमा सक्रिय छन् । उनले पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । पटेल पनि ठाकुरराम बहुमुखी क्याम्पसबाटै उदाएका नेता हुन् । उनी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को केन्द्रीय सदस्य समेत भइसकेका छन् । क्याम्पसमा उनले गरेको कामको प्रभाव अहिलेसम्म कायम छ । विद्यार्थीहरूबिच उनी एक होनहार र असल नेताको रूपमा आज पनि लोकप्रिय छन् । उनको स्वच्छ छवि र प्रभावशाली व्यक्तित्वले यादवको स्वतन्त्र उम्मेदवारीलाई थप बलियो बनाएको छ । 

विद्यार्थीहरूबिच पटेलको समर्थनलाई कमलेश यादवका लागि महत्त्वपूर्ण कदम मानिएको छ । यद्यपि, पटेलले यादवलाई गरेको समर्थनले नेविसङ्घलाई सबैभन्दा ठूलो घाटा हुने विश्लेषण गरिएको छ । पटेलले आफ्नो प्रभाव प्रयोग गरी स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेपछि नेविसङ्घभित्र हल्लाखल्ला मच्चिएको छ । 

को हुन् कमलेश कुमार यादव ?

कमलेश कुमार यादव ठाकुरराम बहुमुखी क्याम्पसमा सक्रिय विद्यार्थी नेताको रूपमा परिचित छन् । विद्यार्थीहरूका समस्यालाई लिएर विभिन्न समयमा आवाज उठाउँदै आएका यादवले क्याम्पस प्रशासनसँग संवाद र आन्दोलनमार्फत विद्यार्थी हितमा काम गर्दै आएका छन् । उनको सक्रियता र नेतृत्व क्षमताले क्याम्पसमा उनको समर्थन आधार बलियो बनेको विद्यार्थीहरू बताउँछन् । स्वतन्त्र उम्मेदवारको रूपमा उनले कुनै पनि विद्यार्थी सङ्गठनको आड नलिई आफ्नो व्यक्तिगत पहिचान र कार्यशैलीबाट मतदाताहरूलाई प्रभावित पार्ने प्रयास गरिरहेका छन् ।

यादवले आफूले कुनै दलको झन्डा नबोकेर विद्यार्थीको हित र क्याम्पसको सुधीरका लागि स्वतन्त्र रूपमा लड्न आएको बताएका छन् । “हाम्रो क्याम्पसमा शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीका आधारभूत अधिकारका लागि काम गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले भने, “विद्यार्थीहरूको मत मेरो शक्ति हो, म कसैको दबाबमा होइन, उनीहरूको विश्वासमा काम गर्नेछु ।”

यादवले आफ्नो स्वतन्त्र उम्मेदवारीको महत्त्व दर्साउँदै भने, “दलीय राजनीतिले कहिलेकाहीँ विद्यार्थीका मुद्दालाई ओझेलमा पार्छ । म स्वतन्त्र भएर सबै विद्यार्थीको प्रतिनिधित्व गर्न चाहन्छु, चाहे उनीहरू कुनै पनि सङ्गठनसँग आबद्ध होउन् वा नहोउन् ।”

किन महत्त्वपूर्ण छ ठाकुररामको स्ववियू निर्वाचन ?

ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको शैक्षिक केन्द्र मात्र नभएर विद्यार्थी राजनीतिको पनि महत्त्वपूर्ण थलो हो । यहाँ हुने स्ववियु निर्वाचनले स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने गरेको छ । विभिन्न विद्यार्थी सङ्गठनहरूले आफ्नो प्रभाव देखाउन निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउने गर्छन् ।

ठाकुरराममा पछिल्लो स्ववियु निर्वाचन २०६५ सालमा भएको थियो । त्यसपछि विभिन्न कारणले निर्वाचनको मिति तोकिए पनि कार्यान्वयन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्रशासन र विद्यार्थी सङ्गठनहरूबिच मतभेदका कारण कयौंपटक निर्वाचन स्थगित भएको छ । त्यसैगरी, कोभिड-१९ महामारी र अन्य प्रशासनिक समस्याले निर्वाचन स्थगित हुँदै आएको छ । १६ वर्षपछि हुन लागेको स्ववियू निर्वाचनले क्याम्पसको विद्यार्थी राजनीतिमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ । त्यसैले पनि यस पटकको निर्वाचनमाथि सबैको आँखा छ ।

चैत्र ५ गतेको निर्वाचनमा पनि विभिन्न सङ्गठनहरूबिच तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । तर, यादवको स्वतन्त्र उम्मेदवारीले दलीय प्रभावलाई चुनौती दिने सङ्केत देखिएको छ । क्याम्पसका विद्यार्थीहरूबिच यादवको उम्मेदवारी र पटेलको समर्थनले अहिले चर्चाको विषय बनेको छ । विद्यार्थीहरूले यादवको स्वतन्त्र नेतृत्वमा क्याम्पसमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् । “कमलेशजीले हाम्रा समस्याहरूमा सधैँ साथ दिनुभएको छ, उहाँ सभापति बन्नुभयो भने क्याम्पसको शैक्षिक र भौतिक सुधीरमा ठूलो योगदान पुग्छ,” एक विद्यार्थीले भने ।

स्ववियु निर्वाचनका लागि क्याम्पस प्रशासनले पनि तयारी तीव्र बनाएको छ । मतदाता नामावली तयार पार्ने, उम्मेदवारी दर्ता र प्रचारप्रसारको समय सीमा तोकिएको छ भने निर्वाचनका लागि समिति समेत गठन गरिएको छ । विद्यार्थी सङ्गठनहरूले पनि आफ्ना उम्मेदवार र एजेन्डाहरू सार्वजनिक गर्न थालेका छन् । यस्तोमा सुधीर पटेलको समर्थन र यादवको स्वतन्त्र उम्मेदवारीले निर्वाचनमा नयाँ आयाम थपेको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन नजिकिँदै गर्दा यादवको स्वतन्त्र उम्मेदवारी सभापतिको दौडमा बलियो दाबेदारको रूपमा अगाडि आएको छ । सुधीर पटेलको समर्थन र उनको स्वतन्त्रताप्रतिको प्रतिबद्धताले उनको पक्षमा थप माहौल बनेको छ । उनको भनाइ र कार्यशैलीले विद्यार्थीहरूबिच विश्वास जगाउने प्रयास गरेको देखिन्छ । अब चैत्र ५ गतेको मतदानले नै उनको नेतृत्व क्षमता र विद्यार्थीहरूको समर्थनको परीक्षा लिनेछ । निर्वाचनले वीरगञ्जको विद्यार्थी राजनीतिमा नयाँ अध्याय थप्ने निश्चित छ ।

Back to top