आयोजक केपी ओली फुटबल टिमलाई सजिलै ४–० ले हराएर मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
मछिन्द्रले फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ। पहिलो सेमिफाइनलमा आर्मीले सङ्कटा क्लबलाई २–० ले पराजित गरेको थियो। फाइनलमा आर्मी क्लबलाई हराएमा मछिन्द्रले लगातार तेस्रो पटक केपी ओली कप जित्ने छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्रका विदेशी खेलाडी स्टेफन जालीले दुई तथा मनिष डाँगी र रोशन रानामगरले एक÷एक गोल गरे। पूर्वार्धको निर्धारित समय सकिन छ मिनेट बाँकी छँदा मनिषको गोलबाट मछिन्द्रले अग्रता बनायो। सनिस श्रेष्ठले मैदानको दायाँ भागबाट गरेको व्रmस बललाई मनिषले गोल गरे।
मध्यान्तरपछिको खेलमा मछिन्द्रले अग्रता दोब्बर बनाउन पाँच मिनेट मात्र लगायो। युसुफ मलिकले डिबक्सभित्रबाट प्रहार गरेको बल गोलरक्षक अभिषेक बरालले बिफल पारे पनि रोशनले रिबाउन्डमा गोल गरी आयोजक टिमलाई निराश पारे। रोशन खेलको ‘म्यान अफ दी म्याच’ बने। छिन्द्रका स्टेफनले अन्तिम समयमा लगातार दुई गोल गरे। फाइनल खेल भोलि हुनेछ।