सर्लाही । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट युवा नेता दीपक महतो केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्। मधेशी युवा समूहबाट उम्मेदवारी दिएका महतोले ४०८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी सुरेन्द्र यादवलाई २०६ मतमै सीमित राखी दोब्बर मतान्तरसहित ऐतिहासिक जित हासिल गरेका हुन्।
सर्लाही वरहथवा निवासी महतो यसअघि नेपाल समाजवादी युवा संघका अध्यक्षका रूपमा नेतृत्व गरिसकेका अनुभवी युवा नेता हुन्। विद्यार्थी आन्दोलन तथा संगठन निर्माणमा लामो समयदेखि सक्रिय महतोले समाजवादको सशक्त नेतृत्व गर्दै वैकल्पिक राजनीतिक धार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुख्य एजेन्डा: संगठन विस्तार, विचारको स्थापनाद्वारा सशक्त पार्टी निर्माण महतोले पार्टीलाई जनस्तरमा स्थापित गर्न निम्न रणनीतिहरूलाई अघि बढाउने बताए:
संगठन विस्तार र सुदृढीकरण: पार्टीलाई गाउँ-गाउँसम्म पु¥याएर जनतासँग प्रत्यक्ष संवाद गर्ने। राजनीतिक चेतनाको अभिवृद्धि: युवालाई राजनीति, समाजवाद र जनसरोकारका विषयमा सचेत बनाउन विचारगोष्ठी तथा जनजागरण अभियान सञ्चालन गर्ने। भ्रष्टाचार र अन्यायविरुद्ध संघर्ष: बेथिति, विभेद, भ्रष्टाचार र सामाजिक अन्यायका विरुद्ध निरन्तर अभियान सञ्चालन गर्ने।
युवाहरूको सशक्तीकरण: रोजगारी, शिक्षा, नेतृत्व विकास तथा उद्यमशीलतासम्बन्धी कार्यक्रम अघि बढाउने।
महतोले निर्वाचनपछि महाधिवेशन प्रतिनिधिहरू, प्रस्तावक दीपक बोहरा, समर्थक इन्द्र सिलवाल, तथा सम्पूर्ण कार्यकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै पार्टीलाई सशक्त वैकल्पिक शक्ति बनाउने लक्ष्यमा दृढ रहने बताए।
"हामी राजनीति परिवर्तन मात्र होइन, सामाजिक र आर्थिक रूपान्तरणलाई पनि मुख्य प्राथमिकतामा राख्छौं। संगठनलाई बलियो बनाउँदै जनताको वास्तविक नेतृत्व स्थापित गर्ने हाम्रो संकल्प हो," महतोले भने।
महतोले संगठनलाई जनतासँग मजबूतीका साथ जोड्दै समाजवादी आन्दोलनलाई बलियो बनाउन निरन्तर संघर्ष गर्ने बताए। उनको नेतृत्वमा पार्टीले युवाहरूलाई केन्द्रमा राखेर नीतिगत बहस, वैकल्पिक राजनीति र सामाजिक न्यायको प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।