×

पाकिस्तानको कराँचीमा फ्लुका बिरामीहरूको संख्या तीव्र रूपमा बढ्दा, प्रान्तीय स्वास्थ्य विभागले सतर्कता अपनाउँदै रोकथाम र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, हरेक वर्ष जाडो मौसममा इन्फ्लुएन्जा फैलिने गर्छ, तर यो वर्ष एच १ एन १ (पहिले स्वाइन फ्लु भनेर चिनिने) को संक्रमण धेरै तीव्र देखिएको छ। पाकिस्तानका वरिष्ठ चिकित्सक डा अल्ताफ हुसैन खत्रीका अनुसार, पछिल्ला केही हप्तादेखि उनले दैनिक ३०–४० संक्रमित बिरामी जाँचिरहेका छन्, जसमा ज्वरो, खोकी, शरीर दुखाइ, र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ।

कराँचीका अस्पतालहरूमा बिरामीको अत्यधिक चाप रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ। पाकिस्तान मेडिकल एसोसिएसनका प्रतिनिधि समेत रहेका डा खत्रीका अनुसार, बिरामीहरूको चापका कारण स्वास्थ्य केन्द्रहरू ‘अत्यधिक प्रभावित’भएका छन्। उनले संक्रमण रोकथामका लागि जनतालाई मास्क लगाउन आग्रह गरेका छन्।

स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य अधिकारीहरू, सरकारी अस्पतालका सुपरिटेन्डेन्टहरू, र अन्य सम्बन्धित निकायलाई पत्र लेख्दै कडा निगरानी गर्न तथा संक्रमण रोक्नका लागि तुरुन्तै कदम चाल्न निर्देशन दिएको छ। पत्रमा स्वास्थ्यकर्मीहरूलाई पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) लगाउन, संक्रमण नियन्त्रणका उपाय अपनाउन, र सबै शंकास्पद तथा पुष्टि भएका केसहरू तुरुन्तै स्वास्थ्य विभागलाई रिपोर्ट गर्न भनिएको छ।

आगा खान युनिभर्सिटी अस्पतालका संक्रामक रोग विशेषज्ञ डा फैसल महमूदका अनुसार, यस वर्ष फ्लुको प्रकोप विशेष गरी भयावह बनेको छ। अस्पतालमा २०–४० बिरामी गम्भीर अवस्थामा भर्ना भइरहेका छन् भने केही मृत्यु पनि भइसकेको छ।

उनका अनुसार, फ्लु केवल हल्का खोकी वा ज्वरो मात्र नभई, जटिल संक्रमण हुनसक्छ। यदि चार–पाँच दिनसम्म लक्षण सुधार नहुने वा सास फेर्न गाह्रो हुने अवस्था आएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्ने उनले बताए। साथै, उनले एण्टिबायोटिक औषधि अनावश्यक रूपमा सेवन नगर्न चेतावनी दिएका छन्।

Back to top