×

सर्लाही । प्राइम टेलिभिजनका सर्लाही जिल्ला संवाददाता एवं सौर्य अनलाइन खबरका प्रधान सम्पादक विपेन्द्र कुमार साहमाथि शुक्रवार भएको सांघातिक हमलाप्रति संसदमा समेत आवाज उठेको छ।

प्रतिनिधि सभा सदस्य राम प्रकाश चौधरीले आज (आइतवार) शून्य समयमा बोल्दै पत्रकार साहमाथि भएको हमलाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनले सर्लाही जिल्लामा कथित मिटर ब्याज संघर्ष समितिको नाममा आतंक मच्चिएको गुनासो गर्दै राज्यलाई तुरुन्त हस्तक्षेप गर्न आग्रह गरेका छन्।

सर्लाहीको पर्सा गाउँपालिका वडा नं. २ निवासी राजकपुर मण्डलले शुक्रवार १०-१५ जनाको समूह लिएर मलंगवा स्थित मालपोत कार्यालयमा पत्रकार साहलाई कार्यालय प्रमुखकै कार्यकक्षमा हातपात गरेका थिए।

पत्रकार साहका अनुसार, मण्डलसँग विगत ३ वर्षदेखि अदालतमा लेनदेन सम्बन्धी मुद्दा चलिरहेको थियो। साहले मण्डललाई १५ लाख रुपैयाँ दिएका थिए, तर पटक-पटक आग्रह गर्दा पनि रकम नफर्काएपछि बाध्य भएर अदालतको ढोका ढकढक्याउनु परेको थियो।

उक्त मुद्दामा साहको पक्षमा फैसला आएपछि जनकपुरको अदालतबाट समेत उनको जित भएको थियो। अदालतको आदेशअनुसार बिगो असुल गर्न सर्लाही अदालतमा पुनः मुद्दा दर्ता गरिएको थियो। सोही क्रममा अदालतको आदेशअनुसार मण्डलको दुई कित्ता जग्गा दाखिल-खारिज गराउन पत्रकार साह मालपोत कार्यालय पुगेका बेला मण्डल समूहले फिल्मी शैलीमा कुटपिट गरेको पीडित पत्रकार साहले बताएका छन्।

मालपोत कार्यालयका प्रमुखसहित कर्मचारी, लेखनदास तथा अन्य सेवाग्राहीहरूको सामु नै  सार्वजनिक स्थलमा खुलेआम भएको यो घटनाले विधिको शासन र कानूनको पालना कति कमजोर छ भन्ने देखाएको छ।

Back to top