×

वीरगञ्ज । दिल्लीको राजनीतिक परिदृश्यमा ऐतिहासिक परिवर्तन आएको छ । एक दशकदेखि दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक अरविन्द केजरीवाल चुनावमा पराजित भएका छन् ।

नयाँ दिल्ली विधान सभा क्षेत्रबाट उनले भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार परवेश वर्मासँग तिन हजार भन्दा बढी मतान्तरले हार बेहोरेका छन् ।

केजरिवालको पराजय आम आदमी पार्टीको लागि ठूलो झड्का हो । २०१३ को विधान सभा चुनावमा दिल्लीको राजनीति प्रवेश गरेका उनले छोटो समयमै लोकप्रियता कमाउँदै लगातार तीन कार्यकाल मुख्यमन्त्रीको रूपमा काम गरेका थिए । तर, २०२५ को चुनावमा उनले भाजपाका उम्मेदवारसँग पराजित हुनुको अर्थ दिल्लीको जनमत अब फेरिएको छ भन्ने स्पष्ट सङ्केत हो ।

केजरीवालको हारको कारणहरू

विश्लेषकहरूका अनुसार, अरविन्द केजरीवालको पराजयका पछाडि भ्रष्टाचारको आरोप, सरकार सञ्चालनका कमजोरी, र भाजपाको रणनीतिक आक्रमण मुख्य कारण बनेका छन् ।

सबैभन्दा ठूलो विवाद दिल्लीको मदिरा नीति घोटाला बन्यो । केजरीवाल नेतृत्वको सरकारले ल्याएको नयाँ नीति विवादित बनेपछि, उनका निकटतम मन्त्रीहरूविरुद्ध छानबिन सुरु भएको थियो । केही नेताहरू पक्राउ समेत परेका थिए । लामो समयसम्म स्वयं केजरीवालसमेत अनुसन्धानको घेरामा पर्दै पक्राउ समेत परे । यस्ता घटनाक्रमहरूले उनको पार्टीलाई गम्भीर धक्का दिएको थियो ।

भाजपाले चुनावी अभियानका क्रममा केजरीवाललाई भ्रष्टाचारको प्रतीकको रूपमा चित्रित गर्दै “भ्रष्टाचारमुक्त दिल्ली” को नारा अघि सारेको थियो । यसबाहेक, भाजपाले दिल्लीको कमजोर ट्राफिक व्यवस्था, वायु प्रदूषण नियन्त्रणको असफलता, सरकारी विद्यालयहरूको गिरावट, र अस्थिर प्रशासन जस्ता मुद्दाहरू उठाउँदै आप सरकारमाथि प्रहार गर्‍यो ।

यसको साथै, सङ्घीय बजेटमा मध्यम वर्गलाई दिइएको कर कटौती तथा आर्थिक राहत योजनाहरू भाजपाका लागि लाभदायक बनेको अनुमान गरिएको छ । केजरीवालको पराजयको अर्को कारण उनको पार्टीभित्र देखा परेको असन्तुष्टि र नेतृत्वप्रति बढ्दो असन्तोष पनि हो ।

केजरीवालको पराजयको प्रभाव

केजरीवालको हारले आम आदमी पार्टीको भविष्य अनिश्चित बनाएको छ । २०१५ र २०२० को चुनावमा दिल्लीका जनता उनको शिक्षा, स्वास्थ्य र सस्तो बिजुली–पानी नीति मन पराएर समर्थन गरेका थिए । तर, २०२५ को चुनावमा जनताको सोच बदलिएको देखियो। अब, केजरीवालको राजनीतिक भविष्य के हुन्छ भन्ने बहस सुरु भएको छ ।

उनको हारसँगै पार्टीभित्र नयाँ नेतृत्व चयनको विषय उठ्न सक्छ, किनकि लगातार घट्दो लोकप्रियताका कारण अब नयाँ रणनीति आवश्यक देखिएको छ । दिल्लीमा भाजपाको सरकार गठनसँगै आपको सङ्गठनात्मक शक्ति खुम्चिने सम्भावना बढेको छ ।

अरविन्द केजरीवालको पराजय केवल एउटा चुनावी परिणाम होइन, दिल्लीको राजनीतिमा आएको विचारधारात्मक परिवर्तनको प्रतिबिम्ब हो । एक दशकसम्म दिल्लीको मुख्यमन्त्रीको रूपमा शासन गरिसकेका केजरीवाललाई यस पटक जनताले अस्वीकार गरेका छन् । आगामी दिनमा उनले पार्टीलाई पुनर्जीवित गर्ने प्रयास गर्छन् कि राजनीतिबाट पछि हट्छन् भन्ने प्रश्न अहिले सबैको चासोको विषय बनेको छ ।

Back to top