एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भू–भागमा बदली र वर्षा हुने सम्भावना रहे पनि तराईका जिल्लामा, विशेषगरी पर्सा र बारामा तातो लहर (लू) को उच्च जोखिम देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनअनुसार पर्सा र बारा जिल्लामा आगामी केही दिन मध्यमदेखि कडा तातो हावाको लहर चल्ने सम्भावना छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले विभागले यी जिल्लाका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधरणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । तर तराई क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेकाले तापक्रम अझै बढ्ने अनुमान गरिएको छ ।
पर्सा र बारासहित बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा तातो हावाको लहर चल्ने सम्भावना रहेको विभागले जनाएको छ। यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी पूर्व (नवलपुर), चितवन, सुनसरी, मोरङ र झापामा तातो दिन रहने पूर्वानुमान छ ।
मौसमविद्का अनुसार पर्सा–बारामा दिउँसोको समयमा तापक्रम अत्यधिक बढ्न सक्ने भएकाले बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरू विशेष जोखिममा पर्न सक्छन् । गर्मीका कारण स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
तातो लहरबाट जोगिन दिउँसो ११ बजेदेखि ४ बजेसम्म सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव केही दिन कायम रहने जनाउँदै पर्सा र बारासहित प्रभावित जिल्लाका बासिन्दालाई मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ ।