×

वीरगञ्ज । इरान र अमेरिकाबिचको तनाव फेरि चुलिएको छ । इरानले बुधवार कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाइएको छ । त्यसअघि अमेरिकी सेनाले इरानको केश्म टापु तथा अन्य सैन्य संरचनामाथि कारबाही गरेको भन्दै जबाफी आक्रमण गरेको जनाएको छ ।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आइआरजीसी) ले कुवेत र बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौं बेडाको मुख्यालय, हवाई अड्डा तथा हेलिकोप्टरहरूलाई निशाना बनाएको दाबी गरेको छ ।

आइआरजीसीका अनुसार अमेरिकाले यसअघि केश्म टापुस्थित एक सञ्चार टावरमा पनि आक्रमण गरेको थियो ।
आइआरजीसीले अमेरिकाले होर्मुज जलडमरूमध्य नजिकै रहेको एक इरानी तेल ट्याङ्करमाथि समेत आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणबाट ट्याङ्करको इन्जिन कक्षमा क्षति पुगेको जनाइएको छ । त्यसको जवाफ स्वरूप इरानले ‘पनाया’ नामक जहाजमाथि मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

यता, अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जारी गरेको वक्तव्यमा इरानले छिमेकी देशहरूतर्फ धेरै मिसाइल प्रहार गरे पनि ती सबै प्रयास असफल भएको जनाएको छ ।

कुवेततर्फ प्रहार गरिएका दुई मिसाइल लक्ष्यमा पुग्न नसकेको वा बिचमै नष्ट गरिएको दाबी गरिएको छ । त्यसैगरी बहराइनतर्फ प्रहार गरिएका तीन मिसाइललाई अमेरिकी र बहराइनी हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबी अमेरिकाले गरेको छ ।

Back to top