दोस्रो संस्करणको आईसीसी अन्डर–१९ टी–२० महिला विश्वकप शनिबारदेखि मलेसियामा सुरू हुँदै छ।
प्रतियोगितामा सहभागी १६ टोलीले अभ्यास खेलसमेत खेलिसकेका छन्। एसिया छनोटको विजेताका रुपमा विश्वकपमा छनोट नेपालले पनि अन्तिम तयारी सकेको छ। सुपर सिक्समा पुग्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले कस्तो प्रदर्शन गर्ला भन्ने सबैमा चासो रहेको छ।
दोस्रो संस्करणमा १६ देशका राइजिङ स्टारहरुले प्रतिस्पर्धा गर्दै छन्। चार मैदानमा हुने ४१ खेलपछि प्रतियोगिताको विजेता टुंगो लाग्ने छ।
यो प्रतियोगिताका लागि नेपाली टोली पनि मलेसियामा छ। महेश रिजालको प्रशिक्षण र पूजा महतोको कप्तानीमा मलेसियामा रहेको नेपालले सुपर सिक्समा स्थान बनाउने लक्ष्य राखेको छ। तर। वार्म अफ म्याचमा नेपाल वेस्ट इन्डिज र अमेरिकासाग पराजित भएको थियो।
विश्वकप छनोटदेखिनै निकै व्यस्त तालिका रहेको महिला अन्डर–१९ टोलीले त्यसपछि एसिया कप खेलेको थियो। एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै सुपर फोरसम्म पुगेको नेपालका केही खेल वर्षाका कारण रद्द भएका थिए। त्यसपछि चितवन र काठमाडौंमा ३ महिना प्रशिक्षण गरेको थियो।
विश्वकप छनोट र एसिया कपमा फिल्डिङ, फिटिनेस र रनिङ बिट्विन द विकेटमा कमजोर नेपालले प्रशिक्षणका क्रममा यी सबै क्षेत्रमा विशेष काम गरेको थियो।
विश्वकपमा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ। समूह एमा भारत, मलेसिया श्रीलंका र वेस्ट इन्डिज छन्।
समूह बीमा इङ्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। यस्तै समूह सीमा न्युजिल्याण्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन्।
नेपाल सम्मिलित समूह डीमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन्। भारत पहिलो संस्करणको विजेता र मलेसिया आयोजकको रुपमा विश्वकपमा छनोट भएका हुन्।
नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका क्षेत्रीय छनोटमार्फत् विश्वकपकमा छनोट हुँदा बाँकी टिम अघिल्लो विश्वकपको प्रदर्शनका आधारमा सिधै छनोट भएका थिए।
प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्समा पुग्ने १२ टोलीलाई २ पोलमा विभाजन गरिएको छ।
नेपालले बंगलादेशविरुद्ध माघ ५ गते खेल्दै विश्वकपमा डेब्यू गर्ने छ। दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्ड र ९ गते अस्ट्रेलियाविरुद्ध खेल्ने छ।