×

वीरगञ्ज । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेला सुरु भएको छ । गङ्गा, जमुना र कल्पित सरस्वती नदीको त्रिवेणीमा महाकुम्भ सुरु भएको हो । 

उत्तर प्रदेश सरकारले आगामी महा शिवरात्रिसम्म चल्ने मेलामा ४० करोड श्रद्धालु सहभागी हुने अनुमान गरेको छ ।

मेलामा आज पहिलो शाही स्नान हुनेछ । चार हजार हेक्टर क्षेत्रफलमा हुने मेलाको पहिलो दिन प्रदेश सरकारले श्रद्धालुलाई हेलिकोप्टरबाट २० क्विन्टल गुलाबको फुलबाट पुष्पवृष्टि गराएर स्वागत गर्ने तयारी गरेको छ ।

४० दिने मेलामा उत्तर प्रदेश सरकारले ‘युपी दिवस समारोह, विभिन्न साङ्गीतिक कार्यक्रमसहित कयौँ धार्मिक कार्यक्रमको तालिका बनाएको छ । मेलालाई ठुलो धार्मिक कार्यक्रम मात्र नभई उत्तर प्रदेश सरकारको प्रशासनिक शक्ति प्रदर्शनका रूपमा समेत लिइएको बिबिसी हिन्दीले जनाएको छ ।

मेलाको सुरक्षाका लागि ड्रोन, बम डिस्पोजल टोलीका साथै राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरिएको छ । श्रद्धालु भक्तजनको बसोबासका लागि निःशुल्क धर्मशालादेखि ५ तारे होटेलको सुविधासहितका क्याम्पहरू तयार गरिएको छ ।

Back to top