वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह, सार्वजनिक स्थल तथा राजनीतिक नेताको निवासअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सोमबार बिहान कान्तिपुर मिडिया हाउस, हिमालयन टेलिभिजन र अनलाइनखबरको कार्यालयअगाडि सडक अवरुद्ध हुने गरी गाडी पार्क गरिएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राउतले यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने बताएका हुन्।
उनले अनामनगरस्थित भाटभटेनी सुपरमार्केट तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि शंकास्पद रूपमा गाडी राखिएको घटनाको उल्लेख गर्दै सुरक्षा संयन्त्रको सतर्कता र प्रभावकारितामाथि प्रश्न उठाएका छन्।
राउतले सामाजिक सञ्जालमा लेखेका छन्, “होइन होला! आज गेटै छेक्ने गरी गाडी राख्न लगाए, भोलि घर–घर अगाडि विस्फोटक पदार्थ राख्न लगाए भने के हुने हो?” उनका अनुसार यस्ता गतिविधिले नागरिकको सुरक्षामाथि प्रत्यक्ष चुनौती सिर्जना गर्न सक्ने भएकाले सम्बन्धित निकायले गम्भीरतापूर्वक अनुसन्धान गर्न आवश्यक छ।
आफ्नो प्रतिक्रियामा उनले प्रगतिशील उर्दू कवि फैज अहमद फैजको चर्चित कविता ‘हम देखेंगे’ का केही अंश उद्धृत गर्दै वर्तमान घटनाक्रमप्रति आफ्नो चिन्ता व्यक्त गरेका छन्।
यता सञ्चारगृह, सार्वजनिक स्थल तथा प्रमुख राजनीतिक व्यक्तित्वको निवासअगाडि लगातार सवारीसाधन पार्क गरिएका घटनापछि यसको उद्देश्य, सुरक्षा जोखिम तथा सम्भावित कारणबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन्। सम्बन्धित निकायले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।