संयुक्त राज्य अमेरिकाले बिहीबार बिहान इरानका विभिन्न सैन्य लक्ष्यहरूमा पुनः व्यापक हवाई आक्रमण गरेको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार आक्रमण मिसाइल प्रक्षेपण स्थल, हवाई प्रतिरक्षा प्रणाली तथा सिस्तान–बलुचिस्तान प्रान्तस्थित इरानी सेनाको ३८८ औं ब्रिगेडको ब्यारेकलाई लक्षित गरी गरिएको हो।
अमेरिकाले यी आक्रमणहरू इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले गरिएको जनाएको छ। पछिल्ला केही सातादेखि दुवै देशबीच बढ्दो तनावका बीच यो आक्रमणलाई द्वन्द्वको अर्को गम्भीर चरणका रूपमा हेरिएको छ।
अमेरिकी आक्रमणपछि इरानले तत्काल जवाफी कदम चाल्दै बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। घटनापछि बहराइन र कुवेतमा क्षेप्यास्त्र अलर्ट जारी गरिएको छ भने जोर्डनले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीन इरानी क्षेप्यास्त्र खसालेको जनाएको छ।
यता, इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका आफ्नो आक्रामक नीतिबाट पछि नहटे इरान ठूलो सैन्य टकरावका लागि पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले पनि आवश्यक परे मध्यपूर्वबाट हुने तेल र ग्यास निर्यात अवरुद्ध गर्न सकिने चेतावनी दिएको छ।