सर्लाही। सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ। आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा खसेको थियो।
सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे कारभित्र फसेका गौशाला नगरपालिका-१० का सुरेश महतो (चालक) र सोनमा गाउँपालिका-८ का रामाकान्त ठाकुरको शव निकाल्न सफल भएको छ।
गोताखोर टोलीले पोखरीमा डुबेको कारलाई पनि पत्ता लगाएको छ र कारलाई पोखरीबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ। दुर्घटनाको कारण र अन्य विवरणहरू भने हालसम्म खुलेको छैन।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।