सांकेतिक तस्बिर ।
रौतहट । रौतहटको पश्चिमी क्षेत्र फतुवा विजयपुर नगरपालिकामा बुधबार राति अज्ञात चोर समूहले तीन घरमा सुरुङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपैयाँ नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका छन्। घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ भने ग्रामीण क्षेत्रमा सुरक्षा व्यवस्थामाथि प्रश्नसमेत उठाएको छ।
फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर टोलस्थित रामप्रसाद यादव, तेजनारायण यादव र स्वर्गीय गजेन्द्र सहनीको घरमा चोरहरूले पालैपालो सुरुङ्ग खनेर प्रवेश गरेका थिए। परिवारका सदस्यहरू गहिरो निद्रामा रहेका बेला भएको चोरीमा रामप्रसाद यादवको घरबाट नगद २ लाख ८० हजार रुपैयाँ तथा करिब २ लाख ४० हजार रुपैयाँ बराबरको सुनको मंगलसूत्र र हनुमानी चोरी भएको पीडित परिवारले जनाएको छ।
त्यसैगरी तेजनारायण यादवको घरबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरका चाँदीका बालबालिकाले लगाउने तीन थान बाला चोरी भएको बताइएको छ। चोरहरू सहनीको घरभित्र समेत प्रवेश गरे पनि त्यहाँबाट कुनै सामान लैजान नसकेको स्थानीयले बताएका छन्।
घटनापछि बिहीबार बिहान इलाका प्रहरी कार्यालय विजयपुरको टोली घटनास्थल पुगेको थियो। प्रहरी संगै पुगेका वडा ६ का अध्यक्ष राम एकवाल यादवका अनुसार चोरहरूले ट्रंक र बाकसाका ताला तोडेको कुनै स्पष्ट चिन्ह नदेखिएकाले नक्कली चाबी प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ। “ताला सहज रूपमा खुलेको अवस्थामा भेटिएको छ, त्यसैले चोरहरू व्यावसायिक र योजनाबद्ध समूह हुनसक्छन्,” उनले बताएका छन्।
घटनालाई थप रहस्यमय बनाउने अर्को पक्ष भनेको बुधबार दिउँसो देखी गाउँ नजिकै पाल टाँगेर बसेको १०–१२ जनाको घुमन्ते ९नेटुवा० को समूह बसेका छन्।स्थानीयका अनुसार उक्त समूहका केही सदस्यहरूले गाउँका घरघरमा पुगेर आफूहरू झाँक्री तथा तान्त्रिक भएको भन्दै सम्पर्क गर्न आग्रह गरेका थिए। त्यसपछि राति चोरी भएको घटनाले स्थानीयस्तरमा शंका उत्पन्न गरेको छ।
यद्यपि प्रहरीले हालसम्म कसैको संलग्नता पुष्टि नभएको स्पष्ट पारेको छ। शंकास्पद गतिविधिका आधारमा सोधपुछका लागि नेटुवा समूहका तीन जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।
ग्रामीण क्षेत्रमा पछिल्ला दिनमा चोरीका घटना दोहोरिन थालेपछि स्थानीय तह, प्रहरी र समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी रातिको गस्ती, अपरिचित व्यक्तिको निगरानी तथा सामुदायिक सुरक्षा संयन्त्रलाई सक्रिय बनाउन सके यस्ता घटनामा कमी ल्याउन सकिने स्थानीयको भनाइ छ।