×

वीरगञ्ज । अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला जसपा फुट्यो त्यसको त्रासमा छन् माधवकुमार नेपाल । फुट्न त जसपा फुटेको हो, एकीकृत समाजवादी होइन । तर, राष्ट्रिय दलसमेत बन्न नसकेको र प्रतिनिधिसभामा १० सिट मात्र रहँदा पनि प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले बरुक्कबुरुक्क उफ्रिरहेका नेपाल एकाएक पछारिएका छन् ।

अशोक राई समूहले जसपा नफुटाएको भए नेपाल आजभोलि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरिरहेका हुन्थे। तर, पाँचौ शक्ति जसपा फुटेपछि अब जुनसुकै बेला एकीकृत समाजवादी फुट्ने भए नेपालमा छ ।

एमाले र माओवादी गठबन्धनमा रही सरकारमा रहे पनि नेपाल र यादवको योजना भने कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर अर्काे गठबन्धन बनाउने थियो । देउवाले पनि आलोपालो प्रधानमन्त्रीको आवश्वासन दिएपछि दुबै जना खुट्टा उचालेर बसेका थिए । तर, यही भेउ पाएका ओली र प्रचण्डले जसपा फुटको वातावरण बनाइदिए । र, आइतबार सात सांसदसहित जसपा फुट्यो । सोमबार निर्वाचन आयोगमा दर्तासमेत भइसकेको छ।

अब वैकल्पिक गठबन्धन नबन्ने निश्चित भएपछि यादव सरकारबाट धकेलिने पक्का छ । प्रचण्डले नयाँ जसपाका नेताहरुलाई मन्त्री बनाउने तयारी गरेका छन् । यसको असर एकीकृत समाजवादीमा पनि पर्नेछ। निहुँ खोजिरहेका नेपाललाई अब पन्छ्याउने रणनीति प्रचण्डले लिएपछि एकीकृत समाजवादी जतिखेर पनि फुट्ने सम्भावना छ ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालसहितका नेताहरु नेपालसँग सन्तुष्ट छैनन्, एमालेप्रति झुकाव भएका नेताहरु पार्टी फोडेर गठबन्धन सरकारमा आउन चाहिरेका छन्। यो अवस्थामा नेपाल प्रतिपक्षमा धेकिलनेछन्। त्यही भएर नेपालले सोमबार नेपालले पार्टीको संसदीय दलको बैठक बोलाएका थिए ।

यादव नेतृत्वको सत्तारुढ जसपा विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुन सक्ने भनेर टिकाटिप्पणी सुरु हुन थालेको थियो । तर, पार्टी एक ढिक्का रहेको सन्देश दिन खोजिएको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले बजेट अधिवेशनमा सशक्त ढंगले भूमिका खेल्ने र संसदीय दललाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए ।

उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने निर्णय भएको पनि जानकारी दिए। त्यस्तै, उनले पार्टीका बारेमा हल्ला चलाइएको भन्दै आफूहरूको पार्टी एकढिक्का भएको बताए । 

यसअघि कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउने वातावरण बनेको भन्दै भाषण गर्दै हिँडेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे पनि अहिले चुप छन् । यो परिस्थितिमा नयाँ गठबन्धनको च्याप्टर क्लोज बनेको हो ।

Back to top