×

प्रेस चौतारी पर्साले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । तस्बिर : दिपकप्रसाद गौतम ।

वीरगञ्ज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले अहिले नेपाली काँग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको बताएका छन् ।

मङ्गलवार बिहान प्रेस चौतारी पर्साले वीरगञ्जको होटेल भिस्वामा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले उद्देश्य यस अघिको अपवित्र गठबन्धन भत्काउने रहेको र त्यसमा सफल भइसकेकाले नयाँ बनेको समीकरण तोड्ने पक्षमा नरहेको स्पष्ट पारे ।

राष्ट्र, राष्ट्रियताका पक्षमा सदा खडा रहने एमालेमा जनताको आस्था र विश्वास रहेको अहिले भर्खरै सम्पन्न उपनिर्वाचनले स्पष्ट पारेको टिप्पणी गर्दै उनले एमाले अस्थिरताको राजनीतिलाई स्थिर बनाउनेतिर लागि परेको जिकिर गरे ।

‘‘जनताको विश्वास जितेर मुलुकलाई सही दिशा दिएर एमाले राष्ट्रकै सही ढङ्गबाट नेतृत्व गर्न चाहन्छौ,” उनले भने । उद्योग, ऊर्जा, कृषि, पर्यटन र पूर्वाधारलाई कसरी विकास गरेर लैजानुपर्छ भन्नेमा राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको साथ एमाले अगाडि बढ्ने दाबी गरे । गोर्खापत्र दैनिकबाट ।

Back to top