×

वीरगञ्ज । नेपालले कतारलाई दुई वटा हात्ती उपहार स्वरुप उपलब्ध गराउँदै छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आज मंगलबारबाट सुरु हुने दुईदिने नेपाल भ्रमणका अवसर पारेर नेपालले उक्त घोषणा गर्नेछ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरबीच द्विपक्षीय वार्ता भएपछि नेपालले दुई वटा हात्ती कतारलाई उपहारस्वरुप दिने घोषणा गर्नेछ । “कतारको दोहा चिडियाखानाले नेपालसँग पहिलेदेखि नै हात्ती मागेको थियो । हात्ती दिन केही महिनाअघि नै समझदारी भएको हो । नेपालले दिने हात्ती दोहा चिडियाखानामा राखिनेछ,” वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले भने । 

हात्ती खतराको सूचीमा भएको प्रजातिभित्र पर्छ । त्यसैले हात्ती उपहार दिने काम सहज छैन । यसको लामो प्रक्रिया पूरा गर्नुपर्छ । ‘साइटिस अथोरिटी’ले तोकेअनुसार गर्नुपर्छ । “दुई देशका ‘साइटिस अथोरिटी’ प्राप्त निकायबीच लिने र दिने सहमति भएपछि मात्र हात्ती सम्बन्धित देशमा पठाउन सकिन्छ,” ढुंगानाले भने । 

नेपालको यस्तो निकाय भनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हो । लोपोन्मुख जंगली जीवजन्तु र वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धी साइटिस सरकारबीचको अन्तर्राष्ट्रिय सम्झौता हो । 

साइटिसको उदेश्य वन्यजन्तु बोटविरुवाहरूको नमुनाहरूको अन्तर्राष्ट्रिय व्यापारले प्रजातिको अस्तित्वलाई खतरामा नपार्ने कुरा सुनिश्चित गर्नु रहेको छ । “नेपाल र कतारका साइटिस अथोरिटीबीच सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी छ । हालसम्म समझदारी मात्र भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएपछि पठाउने प्रक्रिया अघि बढ्छ,” वन तथा वातावरण मन्त्रालयका प्रवक्ता ढुंगानाले जानकारी दिए । 

समझदारीपछि कतारलाई उपहार स्वरुप दिने हात्तीको पहिचान गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जले ती हात्ती उपलब्ध गराउने छ । अहिले ती दुई हात्ती चितवन राष्ट्रिय निकुञ्जमा छन् । “कतारलाई दिने पहिचान गरिएको दुई हात्ती– रुद्रकली र खगेन्द्रप्रसाद हुन् । रुद्रकली फिमेल र खगेन्द्रप्रसाद मेल हो,” चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले  भने । 

बिरामी तथा रोगी हात्ती अन्य देशमा पठाउन पाइँदैन । यसैकारण कतारलाई दिने भनिएका दुवै हात्तीको स्वास्थ्य परीक्षण गरिसकिएको छ । दुवै स्वस्थ छन् । “कतारको लागि हात्ती नयाँ प्रजाति हो । यसैकारण कतारको दोहा जुमा हात्ती बाँच्न सक्छ कि सक्दैन, त्यहाँको वातावरण कस्तो छ भन्ने अध्ययन गत मंसिरमा नेपालबाट गएको एक टोलीले गरेर फर्किसकेको छ,” वन तथा वातावरण मन्त्रालयका प्रवक्ता ढुंगानाले भने । 

यस्ता कन्टेनर जनावर सहज तरिकाले बस्न र सास फेर्न मिल्ने खालको हुनुपर्छ । काठमाडौं ल्याएपछि रुद्रकली र खगेन्द्रप्रसादलाई ठूलो विमानमा राखी कतार पठाउने हालको योजना छ ।

विमानभित्र रुद्रकली र खगेन्द्रप्रसादलाई छुट्टाछुट्टै कन्टेनरमा राखिनेछ । कतार पुगेपछि मात्र ती कन्टेनरबाट रुद्रकली र खगेन्द्रप्रसादलाई बाहिर निकालिने छ । कुनै कारणवश विमानमा लैजान नमिलेमा हात्तीलाई कन्टेनरमा राखी भारतको मुम्बई लगि त्यहाँबाट पानी जहाजमा राखेर कतार पुर्‍याइनेछ । “सबै प्रक्रिया पूरा गरेर दुई हात्ती कतार पुर्‍याउन छिटोमा एकदेखि दुई महिनाको अवधि लाग्नसक्छ,” उनले भने । साभार बाह्रखरीबाट

Back to top