×

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेलिने छ । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।

कोलकाता र लखनउबिचको खेल ईडेन गार्डेन्समा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यो कोलकाताको घरेलु मैदान हो । जारी आईपीएलमा कोलकाताको यो पाँचौँ खेल हो । यसअघि खेलिएको चारमध्ये तीन खेलमा कोलकाताले जित हात पारेको थियो ।

बाँकी एक खेलमा भने कोलकाता पराजित भएको थियो । कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । कोलकाताले सनराइजर्स हैदराबादलाई चार रनले, रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले र दिल्ली क्यापिटल्सलाई १०६ रनले हराएको थियो ।

कोलकाता यसअघि खेलिएको खेलमा भने चेन्नई सुपर किङ्ससँग सात विकेटले पराजित भएको थियो । समग्रमा जारी सिजनको आईपीएलमा कोलकाताको प्रदर्शन सन्तोषजनक देखिन्छ । अर्कोतिर, लखउनले जारी सिजनको आईपीएलमा छैटौँ खेल खेल्न लागेको हो ।

यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा लखनउ विजयी भएको थियो । बाँकी दुई खेलमा भने लखनउ पराजित भएको थियो । लखनउ ६ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो ।

लखनउले दोस्रो खेलमा पञ्जाब किङ्सलाई २१ रनले हराएको थियो । तेस्रो खेलमा लखनउले रोयल च्यालेन्जर्स बैगलुरुलाई २८ रनले पराजित गरेको थियो । चौथो खेलमा लखनउले गुजरात टाइटन्सलाई ३३ रनले हराको थियो । लखनउ आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्ससँग ६ विकेटले हारेको थियो ।

लखनउसामु निरीह कोलकाता

कोलकाता र लखनउबिचको खेल जारी सिजनको आईपीएलमा खेल्न लागिएको २८औँ खेल हो । आईपीएलको इतिहासमा हालसम्म कोलकाताले लखनउलाई हराउन सकेको छैन । यी दुई टोलीबिच आईपीएलमा हालसम्म तीन खेल खेलिएको छ ।

तीनवटै खेलमा लखनउले कोलकातालाई हराएको छ । यसअघि आफ्नै घरेलु मैदानमा पनि लखनउसामु कोलकाता निरीह देखिएको छ । इडेन गार्डेन्स स्टेडियममा हालसम्म यी दुई टोलीबिच एक खेल खेलिएको छ । त्यो खेलमा पनि लखनउले कोलकातालाई एक रनले हराएको थियो ।

कोलकाताको सर्वाधिक रन सुनिल नरेनको नाममा

जारी सिजनको आईपीएलमा कोकलाता नाइट राइडर्सका ब्याट्सम्यान र बलर दुबैले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । कप्तान श्रेयस ऐयर भने हालसम्म लयमा देखिएका छैनन् । सुनिल नरेन कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् ।

सुनिल नरेनले हालसम्म चार खेलमा कोलकाताका लागि कुल एक सय ६१ रन बनाएका छन् । वैभव अरोडा कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर हुन् । वैभवले हालसम्म कोलकाताका लागि केवल दुई खेलमा पाँच विकेट लिएका छन् ।

लखनउलाई मयंकको अभाव खट्कने

कोलकाताविरुद्धको खेलमा पनि लखनउको प्रभावशाली बलर मयंक यादव अनुपस्थित रहने छन् । उनी पूर्ण रुपमा अझै स्वस्थ्य भइनसकेको समाचारमा जनाइएको छ । यो खेलमा लखनउका लागि मयंकको अभाव खट्कने छ ।

स्वास्थ्य समस्याका कारण उनी अघिल्लो खेलमा पनि अनुपस्थित रहेका थिए । जारी सिजनको आईपीएलमा लखनउका लागि सर्वाधिक रन बनाउने खेलाडी निकोलस पुरन हुन् । सबैभन्दा बढी विकेट लिने बलर भने यश ठाकुर हुन् ।

ब्याट्सम्यानलाई साथ दिने पिच

कोलकाता र लखनउबिच आइतबारको खेल हुने ईडेन गार्डेन्स स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी रन बन्ने गरेको देखिन्छ । खेल अन्त्यतिर लम्कँदै गर्दा भने स्पिनर बलरले पनि यो पिचबाट केही मद्दत पाउन सक्छन् ।

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८७ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेका छन् । जवाफी ब्याटिङमा ओर्लिएको टोलीले भने यो स्टेडियममा ५१ खेल जितेको इतिहास छ । यो स्टेडियममा हालसम्म बनेको उच्च स्कोर चार विकेट गुमाएर २३५ रन हो । त्यो स्कोर अघिल्लो सिजनको आईपीएलमा चेन्नई सुपर किङ्सले कोलकाताविरुद्ध बनाएको थियो ।

चर्को गर्मी, छैन वर्षाको सम्भावना

कोलकाता र कोलकाताबिच खेल हुने दिन आइतबार कोलकातामा चर्को गर्मी हुनेछ । वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार कोलकाताको तापक्रम २७ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

सम्भावित टोली

कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर (कप्तान), फिल साल्ट, सुनिल नरेन, वेंकटेश ऐयर, अंगकृष रघुवंशी,  रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वैभव अरोडा र वरुण चक्रवर्ती । इम्प्याक्ट प्लेयर : अनुकुल राय ।

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, देवदत्त पडिकल, मार्कुस स्टोइनिस, निकोलस पुरन,  आयुष बडोनी, कुणाल पाण्ड्या, अरशद खान, रवि बिस्नोई, यश ठाकुर र नविन उल हक । इम्प्याक्ट प्लेयर : दीपक हुड्डा ।

Back to top