×

वीरगञ्ज । ज्ञानदा एकेडेमी वीरगञ्जले स्थापना गरेको नेशनल स्पोर्ट्स एकेडेमी मङ्गलवारदेखि सञ्चालनमा आएको छ ।

पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले रिबन काटेर एकेडेमीको उद्घाटन गरेका हुन् । सिंहले क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान गराई रहेकाले क्रिकेटमा लगानी गरिनु स्वागतयोग्य काम रहेको बताए ।

समारोहका अतिथि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकेडेमीलाई भविष्यमा उत्कृष्ट क्रिकेट खेलाडी उत्पादनको शुभकामना दिए ।

ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालाले मधेस प्रदेशमै यसरी ठूलो लगानी सहित स्थापनामा आएको एकेडेमीले हाल क्रिकेटको र भविष्यमा फुटबल, बास्केटबल लगायतका खेलको पनि प्रशिक्षण दिने बताए ।

ज्ञानदा एकेडेमीका संस्थापक सन्दीप तुल्स्यानले खेलकुद क्षेत्रको विकासका लागि एकेडेमीले भविष्यमा थप लगानी गर्ने योजना रहेको बताए ।

समारोहमा राष्ट्रिय क्रिकेट टोलीका अन्य खेलाडीहरू सोमपाल कामी, करण केसी, कुशल मल्ल, आरिफ शेख, आशिफ शेष, अविनाश कर्ण लगायतका समेत सहभागिता थियो ।

एकेडेमीमा बलिङ मेशिन, रात्रि प्रशिक्षणका लागि फ्लड लाइट, स्ट्रेन्ड एण्ड कन्डिशनि सेसन, भिडियो तथा प्राविधिक विश्लेषण, निजि प्रशिक्षण, अभ्यास खेलका लागि खेल मैदान, फिल्डिङ ड्रिल्स, स्विमिङ पुल, यातायात, क्रिकेट टुर, न्युट्रिसन क्यान्टिन, विशेष प्रशिक्षण शिविर आदिको सुविधा समेत रहेको प्रशिक्षक जहुर अन्सारीले बताए ।

Back to top