×

वीरगञ्ज । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ । टिकटक प्रतिबन्ध लगाउने निर्णय भए लगत्तै टिकटकले प्राधिकरणलाई पत्र पठाएको हो ।

सन् २०२२ को अक्टोबरदेखि गत जुन महिनाको बिचमा टिकटकको सामुदायिक निर्देशिका उल्लङ्घन गरेका २९ लाख ८९ हजार भिडियो हटाइसकेको तथ्य पनि टिकटकले पत्रमा उल्लेख गरेको छ । साथै गत अगस्ट २९ मा डिजिटल सेवा करदाताको रूपमा पनि दर्ता भइसकेको पत्रमा खुलाएको छ ।

नेपालका विभिन्न सरकारी निकायका प्रतिनिधिसँग गरिएको समझदारीबारे उल्लेख गर्दै टिकटकले पत्र काटेको हो । पत्रमा यसअघि सरकारी अधिकारीहरूसँग भएको समझदारीअनुसार नै मापदण्ड विपरीतका भिडिओ सामग्रीहरू हटाइएको समेत उल्लेख गरिएको छ । सरकारले टिकटक बन्द गरेपछि त्यसका पक्ष र विपक्षमा विभिन्न तर्क भइरहेका छन् ।

टिकटकको दक्षिण एसियाका लागि सार्वजनिक नीति तथा सरकारसँगको सम्बन्ध हेर्ने विभागका प्रमुख फर्डोस मोटाकिनले सरकारको यस निर्णयले आश्चर्यचकित भएको र चाँडै पुनर्विचार हुने अपेक्षा गरेको पत्रमा उल्लेख गरेका छन् ।

टिकटकले प्रयोगकर्ताको सुरक्षा आफ्नो पनि प्राथमिकताको विषय भएको उल्लेख गर्दै नेपालको घरेलु कानुन विपरीतका सामग्री हटाउने गरी सरकारले सिधै अनुरोध गर्न सक्ने गरी पहुँच दिएको जनाएको छ । सरकारका थप चासो भए आफू सम्बोधन गर्न तयार रहेको पनि स्पष्ट पारेको छ ।

t1

 

Back to top